शीर्षकहरू

स्टार्टअप उद्यम कर्जाका लागि २१ दिनभित्र परियोजना प्रस्ताव माग

स्टार्टअप उद्यम कर्जाका लागि २१ दिनभित्र परियोजना प्रस्ताव माग

काठमाडाैं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव माग गरेको छ । प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८२ (पहिलो संशोधनसहित) अनुसार योग्यता पूरा गरेका इच्छुक उद्यमीहरूलाई परियोजना प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

प्रतिष्ठानका अनुसार कार्यविधिको दफा ४ र अनुसूची–१ अनुसार तोकिएका क्षेत्रभित्र नवीन सोच, सीप, ज्ञान र क्षमता भएका उद्यमीहरूले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र परियोजना प्रस्ताव पेश गर्नुपर्नेछ ।

आवेदन दिनेहरूका लागि परियोजना प्रस्ताव अनलाइनमार्फत पनि पेश गर्न सकिने व्यवस्था गरिएको छ । आवेदकले प्रस्ताव https://sams.iedi.gov.np  मार्फत पठाउन सक्नेछन् । 

संशोधित कार्यविधिअनुसार चालू आर्थिक वर्षमा एक जना स्टार्टअप उद्यमीले अधिकतम २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यसअघि सरकारले स्टार्टअपहरूलाई ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको थियो ।

स्टार्टअप उद्यम कर्जा योजना नयाँ सोच र नवप्रवर्तनमार्फत व्यवसाय सुरु गर्न चाहने उद्यमीहरूलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको जनाइएको छ । 

चालु आर्थिक वर्ष २०८२-०८३ मा स्टार्टअप उद्यम कर्जाका लागि ७३ करोड रुपैयाँ विनियोजन भएको छ ।  गत आवको तुलनामा यो २७ करोड रुपैयाँ कम हो । गत आवमा कर्जाका लागि  एक अर्ब रकम छुट्याइएको थियो ।

स्टार्टअप उद्यमका लागि पाँच क्षेत्र तोकिएका छन् । जसमा कृषि, वन तथा उत्पादनमूलक क्षेत्र, सूचना प्रविधि तथा डिजिटल क्षेत्र, पूर्वाधार तथा यातायात क्षेत्र, सामाजिक सेवा र पर्यटन क्षेत्र, परम्परागत तथा स्थानीय स्रोत साधनमा आधारित स्टार्टअप क्षेत्र तोकिएका छन् । यस क्षेत्रका स्टार्टअप उद्यमीले आफ्नो उद्यमलाई धितोमा राखेर ऋण लिनका लागि आवेदन फाराम भर्न सक्नेछन् । 

गत आर्थिक वर्ष  २०८१-८२ मा प्रतिष्ठानले पाँच हजार १५८ परियोजना मध्येबाट  स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत एक हजार ३१४ परियोजनालाई छनोट गरेको थियो । 

 

null