काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ।
दुबईको आईसीसी एकेडेमीमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल तयार पारेको हो।
नेपालका लागि भिम सार्कीले सर्वाधिक ४८ रनको योगदान दिए। ६८ बलमा ७ चौका सहयोगमा ४८ रन बनाएका भीम ध्रुव परासरको बलमा क्याच आउट भए।
ओपनर आशिफ शेख ४८ बलमा ४ चौका सहयोगमा ३४ रन बनाउँदा रन आउट हुन पुगे। ४३ बलमा ३ चौका र १ छक्का सहयोगमा ३७ रन बनाएका दीपेन्द्रसिंह ऐरी पनि रन आउट हुन पुगे। आरिफ शेखले ५३ बलमा २ चौका सहयोगमा ३० रन बनाए।
त्यसअघि दोस्रो ओभरको पाचौँ बलमा ओपनर कुशल भुर्तेल ९ बलमा २ रन बनाउँदा जाहिद अलीको बलमा विकेटकिपर आर्यान्स शर्माको हातबाट क्याच आउट हुन पुगे।
कप्तान रोहित पौडेल ७ बलमा २ रन बनाउँदा क्याच आउट नै भए। यूएईविरुद्ध २ रन बनाएसँगै कप्तान रोहितले ७६ खेलमा २ हजार रन पूरा गरेका छन्। नन्दन यादव १ रनमा बोल्ड भए। करण केसी शून्य रनमा नै पेभेलियन फर्के।
कुशल मल्ल अन्तिम बलअघि ४६ रनमा बोल्ड भए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरे। कुशलले ४५ ओभरको पहिलो बलमा जीवनदान पाए। जुनैद सिद्दीकीको बलमा कुशलको प्रहार विकेटकिपरले क्याच ड्रप गर्दा जोगिएका थिए।
सन्दीप लामिछाने १५ र ललित राजवंशी ४ रनमा नटआउट रहे।
यूएईका लागि ध्रुव परासरले २ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै मात्र २८ रन खर्चे। जुनैद सिद्दीकी र मुहम्मद जावादुल्लहले पनि समान २ विकेट लिए। जहिद अलीले एक विकेट झारे।
आर्थिकन्यूज