काठमाडौैं। बुटवल पावर कम्पनीले काबेली इनर्जी लिमिटेडमा आफ्नो स्वामित्वमा रहेको सम्पूर्ण शेयरहरु अरुण काबेली लिमिटेडलाई बिक्री गर्ने भएको छ । साथै कम्पनीले हिमाल पावर लिमिटेडको सम्पूर्ण शेयरहरु खरिद गर्ने जनाएको छ । सो कारोबार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि कम्पनीले यहि कार्तिक २१ गते बिशेष साधारण सभा बोलाएको छ ।
कम्पनीको विशेष साधारण सभा यहि कार्तिक २१ गते शुक्रवार क्वालिटी ब्याङक्वेट बुद्धनगर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ। सो साधरण सभाले हिमाल पावर लिमिटेडको सम्पूर्ण शेयरहरू खरिद तथा कावेली इनर्जी लिमिटेडमा रहेको सम्पूर्ण शेयरहरु अरूण कावेली पावर लिमिटेडलाई बिक्री गर्नका संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।
काबेली इनर्जी लिमिटेडमा बुटवल पावर कम्पनीको ६० प्रतिशत शेयर स्वामित्व छ । काबेलीमा ४० प्रतिशत सस्थागत शेयर खरिद सम्झौता गरेको अरुण काबेलीलाई बिपिसीले ६० प्रतिशत शेयर बेचेर पुर्ण रुपमा बाहिरिने अन्तिम तयारी गरेको हो ।
काबेली इनर्जीमा ४० प्रतिशत शेयरधनी समुहको प्रतीनिधीको हैसियतले गुरुप्रसाद न्यौपानेको दबदबा रहेको छ । न्यौपानेको सामु बुटवल पावर कम्पनी तथा काबेली इनर्जीका सन्चालक निरीह भएका छ्न । जसले गर्दा बुटवल पावर कम्पनी बाध्यताबश शेयर बिक्री गर्ने टुंगोमा पुगेको बुझीएको छ । गुपचुप रुपमा शेयर खरिद बिक्री सम्बन्धी सम्झौता गरिसकेको बिपिसीले यसको बैधानिकताको लागि यहि कार्तिक २१ गते बिशेष साधारण सभा बोलाएको हो ।
काबेलीको ४० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेर परियोजना बिकासको जिम्मा लिएको अरुण काबेलीको तर्फबाट गुरु प्रसाद न्यौपानेले काबेली इनर्जीको ब्यबस्थापनमा हालीमुहाली गर्दै आएका छन। अरुण काबेलीले गत बर्ष हकप्रद शेयर जारी गरेर काबेली इनर्जीमा १ अर्ब २० करोड शेयर लगानी गरेकोमा यस बर्ष पनि पुन हकप्रद शेयर जारी गरेर जम्मा हुने रकमले बिपिसीको ६० प्रतिशत शेयर खरिद गर्ने योजना बनाएको छ ।
शेयर बिक्रीको नाममा परियोजना बिक्री
मुलुकको जलबिद्युत क्षेत्रको अग्रणी सस्था बिपिसी माथी परियोजना निर्माण होइन परियोजना बिक्री गर्ने सस्थाको आरोप लाग्दै आएको छ । तिला जलबिद्युत परियोजना, मनाङ मश्र्याङ्दी परियोजनाको शेयर बिक्रीको नाममा परियोजना बिक्री गरेको बिपिसी पुन काबेली इनर्जीको शेयर बिक्रीको नाममा परियोजना बिक्रीमा लागेको छ ।
काबेली इनर्जीको लाइसेन्स अन्तराष्ट्रिय बोलकबोल प्रक्रियाबाट बिपिसीले प्राप्त गरेको हुँदा लाइसेन्स कम्पनीले शेयर स्वामित्व परिवर्तन हस्तान्तरण गर्दा विभिन्न प्रक्रिया पार गर्नु पर्ने हुन्छ। ती पालन गर्नुपर्ने प्रक्रिया पूरा नगरिकन शेयर बिक्री गर्न लागीएकोले सो शेयर बिक्री प्रक्रिया नै बिबादमा पर्ने भएको छ ।
अरुण काबेली कम्पनीले माथिल्लो तटको अर्को आयोजना स्वामित्वको हैसियतमा जलस्रोत अधिकार प्रयोग गर्दै बिपिसी लाई सम्पूर्ण शेयर बिक्री गर्न लामो समय देखि दबाब दिदै आएको थियो । न्यौपाने समुहको दबाबमा परेर शेयर बेच्ने प्रक्रिया शुरु गरेको बिपिसीको साधारण सभामा संचालकहरुले शेयर धनीको तर्फबाट थुप्रै प्रश्नको सामना गर्नुपर्ने देखिन्छ ।
यो शेयर बिक्री प्रकरणले बिबादको रुप लिएको अबस्थामा सरकारले बोलपत्र प्रक्रिया, मूल्यांकन मापदण्ड र सोही आधारमा गरिएको पुरस्कारलाई दृष्टिगत गर्दै, सरकारले अग्रणी बोलकबोलकर्तालाई आयोजनाबाट पूर्ण रूपमा बाहिरिन नदिने गरी हस्तक्षेप गर्नुपर्ने अबस्था रहेको केही शेयरधनीहरु बताउँछन ।
बिपिसी जस्तो ठूलो संस्थाले लाइसेन्स लिएर आयोजना बनाउने भन्दा पनि लाइसेन्सको कारोबार गरिरहेको आरोप लागिरहेको समयमा नेपाल सरकार संग पिडिए गरेर लाइसेन्स लिएको परियोजनाबाट समेत बाहिरिँदा आरोप पुष्टि हुने निश्चित छ । यसबाट बिपिसीका साना लगानीकर्ता निराश हुने र साबिक शेयर मुल्यमा नकारात्मक असर पर्ने विशेष साधारण सभामा आन्तरिक विवाद उत्कर्षमा पुग्ने देखिन्छ ।
त्यसै गरि बिपिसी माथी अर्को गम्भीर प्रश्न पनि उठान हुने देखिएकोछ । प्राप्त जानकारी अनुसार परियोजनामा लगानी गर्ने भनेर एफपीओबाट रकम उठाइ परियोजना निर्माणको क्रममा रहेको अबस्थामा परियोजना नै बेच्ने कार्यले आगामी दिनमा यस प्रकारको लगानी योजनामा शेयरधनी सर्बसाधारण लगानीकर्ताले बिपिसीलाई बिश्वास गर्न नसक्ने अबस्था देखिएको छ।
परियोजनामा लगानी गर्नको लागी २०१८ जनवरिमा बुटवल पावर कम्पनी लिमिटेड (बीपीसीएल) ले फर्दर पब्लिक अफरिङ एफपीओ मार्फत २० लाख ४० हजार ५०० युनिट शेयर जारी गरेको थियो, प्रति कित्ता ५०१ रुपैयाँका दरले कुल २० करोड ४० लाख ५० हजार ५०० रुपैयाँ रकम संकलन गरेको थियो। यो रकम मुख्य रूपमा काबेली ’ए’ जलविद्युत आयोजना (३७.६ मेगावाट) र ङादी जलविद्युत आयोजना (३० मेगावाट) को विकासका लागि प्रयोग गरिएको थियो ।
अरुण काबेलीको हकप्रद बेचेर शेयर खरिद गर्ने योजनामा न्यौपाने समुह
अरुण काबेलीको हकप्रद शेयर जारी पछि शेयर खरिद बापतको रकम भुक्तानी गर्ने हिसाबले अरुण काबेलीले बिपिसीको शेयर खरिद गर्ने योजनामा रहेको न्यौपाने समुहले हकप्रद शेयर जारी गर्ने अनुमति भने प्राप्त गरि सकेको छैन। बिगत लामोसमयदेखि हाइड्रोपावरको शेयर निष्कासन प्रक्रिया अबरोध भएको अबस्थामा पुर्ब आबेदन दिएका हाइड्रोपावर कम्पनीले शेयर निष्कासनको टुंगो नभएको अबस्था हालसालै आबेदन दिएको अरुण काबेलीले छिटोभन्दा छिटो हकप्रद शेयर जारी गर्ने अनुमति पाउन सक्ने अवस्था भने देखिदैन् ।
हकप्रद शेयर जारी गर्न बिलम्ब हुँदा शेयर खरिद बिक्री प्रक्रियाले पनि मुर्तरुप लिन नपाउने निश्चितछ । यस अबस्था गुरु न्यौपाने समुहले शेयर खरिद बिक्री सम्झौताको नाममा ४० प्रतिशत शेयरधनी कै हैसियतले परियोजनाको ब्यबस्थापनमा हालीमुहाली गर्दै परियोजना सम्पन्न भएपछि शेयरखरिदबिक्री सम्झौतालाई बेवास्ता गर्न सक्ने अवस्था पनि रहेकोछ ।
यस अबस्थामा ६० प्रतिशत बहुमत शेयरधनी रहेको बिपिसी निरीह बन्दै न्यौपाने समुहको चक्रब्युहमा फस्ने निश्चित रहेको छ । यस अबस्थामा परियोजनाको बित्तीय ब्यबस्थापनको लागि कर्पोरेट ग्यारेन्टी दिएको बिपिसीको कर्पोरेट ग्यारेन्टी पनि फुकुवा नहुने अबस्था रहेको छ।
शेयर हस्तान्तरण प्रक्रियामामा चुनौती
अहिले बोलाइएको बिशेष साधारणसभा बाट बिपिसीले काबेली इनर्जीको शेयर खरिदबिक्री बारे अख्तियार प्राप्त गरेपनि शेयर हस्तान्तरण प्रक्रियामामा धेरै चुनौती देखापर्ने अबस्था छ । अरुण काबेली बाट हकप्रद शेयर जारी गरेर शेयर रकम भुक्तानी गर्ने भनीएकोले यसपटक अरुण काबेली र गुरु न्यौपानेको बिबादित छबीको कारणले हकप्रद शेयर र पुर्ण रुपमा बिक्री हुन गार्हो रहेको कुरा बजारमा चर्चा रहेको छ।
नेपाल सरकारबाट बोलपत्रबाट परियोजना प्राप्ति गरेपछी काबेली इनर्जीबाट परियोजनाको निर्माण कार्य थालनी भएकोमा चिनिया ठेकदार सगको ठेक्का बिबादको कारणले निर्माण कार्य स्थगित भएकोमा ०७९ सालमा बिपिसीको ६० र अरुण काबेलीको ४० प्रतिशत शेयर स्वामित्व रहने गरि परियोजनाको निर्माण कार्य पुन थालनी गरिएको हो।
हाल लगभग ५० प्रतिशत निर्माण कार्य सकिएको यस परियोजनामा कुमारी बैकको नेतृत्वमा ,कृषि बिकास , राष्ट्रिय बाणिज्य बैक, लक्ष्मी र सानीमा बैकको ७ अर्ब ५० करोड बराबरको कर्जा लगानीमा परियोजनाको काम अघि बढेको हो।
न्यौपानेको बिबादास्पद छबिले उब्जाएका अनेक आशंका
परियोजनाको नेतृत्वकर्ता बिपिसीको ६० प्रतिशत लगानी भएकोले काबेली इनर्जीमा बिपिसीको सस्थागत जमानीमा कर्जा लगानी भएकोले बिपिसीले आफ्नो शेयर बिक्री गर्ने भएकोले सो जमानत फिर्ता गरि अरुण काबेलीले नयाँ जमानत दिनु पर्नेछ। गुरु न्यौपानेले अन्य परियोजनामा ठुलो परिणाममा कर्जा चलाएको र कर्पोरेट जगतमा न्यौपानेको बिबादास्पद छ्बीको कारणले अब बैकले न्यौपाने समुहलाई सजिलो ढंगले बिश्वास गर्न नसक्ने अबस्था देखिएको छ।
बिपिसीको काबेलीमा रहेको ६० प्रतिशत शेयर हिस्सा अरुण काबेलीलाई बिक्री गर्ने प्रस्ताव बिपिसीको साधारण सभाबाट अनुमोदम भएता पनि कर्जाको दायित्व कर्पोरेट ग्यारेन्टी फुकुवा, शेयर हस्तान्तरणमा आउने अन्य जटिलताले गर्दा शेयर खरिद बिक्री सम्झौता सहज ढंगले हुने र बिपिसीले सोचे जस्तो सजिलो ढंगलेले शेयर रकम भुक्तानी पाउन सक्ने अबस्था छैन।
त्यसैगरि नेपाल बिद्युत प्राधिकरणसँगको पिपिए सम्झौता अनुसार सीओडी समय तालिका अनुसार बिद्युत उत्पादन हुन नसक्ने अबस्थामा काबेली इनर्जीले ठूलो रकम हर्जना तिर्नुपर्ने अवस्था पनि बिद्यमान छ ।
न्यौपाने समुहको अर्को खतरनाक रणनीतिमा काबेली इनर्जीको शतप्रतिशत शेयर स्वामित्व प्राप्त गरेपछि न्यौपाने समुहले काबेली इनर्जीको आईपीओ जारी गरेर उठेको रकमबाट आबश्यक हिसाबकिताब मिलान गर्ने, कम्पनीको शेयर कारोबार गर्न मिल्ने भएपछि विस्तारै कम्पनीमा सस्थापक शेयर स्वामित्व कम गर्दै कम्पनीलाई दोस्रो बजारका शेयरधनीको बहुमत शेयर स्वामित्व रहने मोडेलमा परिणत गर्ने योजनामा न्यौपाने समूह रहेको छ ।
न्यौपाने समुहले उर्जा कम्पनीमा यहि मोडेलमा हालीमुहाली गर्दै आएको छ। अरुण काबेलीको अहिलेको शेयर सरचनामा ८६ प्रतिशत शेयरधनी दोस्रो बजारका शेयरधनी छ्न भने १४ प्रतिशत शेयरधनी न्यौपाने समुहमा रहेर अरुण काबेलीमा हालीमुहाली गरिरहेको अबस्था छ ।
आर्थिकन्यूज