शीर्षकहरू

वीरगञ्ज भन्सार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज भन्सार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज। चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप, कार र भ्यानहरू आयात भएका छन्।

गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै वृद्धि भएको छ । गत आवको तीन महिनामा भने ९७  मात्रै विद्युतीय जीप, कार र भ्यानहरू आयात भएको थियो ।

सर्वसाधारणको विद्युतीय सवारीसाधनप्रतिको आकर्षण र चीनको सीमा नाका हुँदै आउने सडकको अवस्था दयनीय भएपछि यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको हो । चालु आवको तीन महिनामा विद्युतीय जीप, कार र भ्यान आयातबाट ४५ करोड ७२ लाख राजस्व संकलन भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली पनि पछिल्लो समय विद्युतीय सवारीसाधनको आयातमा उल्लेखनीय वृद्धि भएको बताए । गत आवको तीन महिनाको अवधिमा भने वीरगञ्ज नाका हुँदै १४ करोड ४९ लाख मूल्य पर्ने ९७ वटा विद्युतीय जीप, कार र भ्यानहरू आयात भएको थियो । सो अवधिमा विद्युतीय सवारीसाधन आयातबाट नौ करोड ११ लाख मात्रै राजस्व संकलन भएको थियो ।

चालु आवको तीन महिनाम २८ करोड ७९ लाख मूल्य पर्ने दुई हजार एक सय ९४ विद्युतीय मोटरसाइकल आयात भएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा भने २१ करोड १७ लाख मूल्य पर्ने एक हजार चार सय ८१  विद्युतीय मोटरसाइकल आयात भएको थियो ।