शीर्षकहरू

खराब कर्जाले थिचिदै कुमारी बैंक, इम्पेरिमेन्ट चार्ज दोब्बर पुग्यो

खराब कर्जाले थिचिदै कुमारी बैंक, इम्पेरिमेन्ट चार्ज दोब्बर पुग्यो

काठमाडौं । कुमारी बैंकको खराब कर्जा उच्चदरमा बढेको छ । बैंकले प्रकाशीत गरको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा झण्डै ७ प्रतिशत पुगेको छ । खराब कर्जा बढ्दा बैंकको जोखिम व्यवस्थापन (इम्पेरिमेन्ट चार्ज) दोब्बर पुगेको छ । 

बैंकको विवरण अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा ६.९८ प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा ४.९६ प्रतिशत मात्र थियो । खराब कर्जा बढेपछि बैंकको लोनलस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) दोब्बर पुगेको छ। बैंकले यो शिर्षकमा १ अर्ब २६ करोड ४१ लाख रुपैयाँ राखेको छ । जबकी गत आवको यसै अवधिमा ६३ करोड मात्र थियो। 

बैंकको ब्याज आम्दानी, फि तथा कमीशन आम्दानीमा सुधार आउँदा संचालन आम्दानी बढेको छ । तर जोखिम व्यवस्थापन उच्चदरले बढ्दा संचालन नाफासँगै खुद नाफा घटेको छ । बैंकले पहिलो त्रैमासमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत आवमा १ अर्ब ७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा नकारात्मक रहेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ३३ पैसा घटेर १६ रुपैयाँ ११ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.२६ गुणा रहेको छ।

बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ  भने जगेडा कोषमा ११ अर्ब ८५ करोड ७० लाख रुपैयाँ सञ्चित छ । बैंकले यसअवधिसम्म ३ खर्ब ६० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६९ अर्ब ४१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।