शीर्षकहरू

विकास बैंकहरुको नाफा ४५ प्रतिशतले घट्यो, गरिमा पहिलो नम्बरमा हुँदा लुम्बिनी नोक्सानमा

विकास बैंकहरुको नाफा ४५ प्रतिशतले घट्यो, गरिमा पहिलो नम्बरमा हुँदा लुम्बिनी नोक्सानमा

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा राष्ट्रिय स्तरका विकास बैंकहरुले ७८ करोड बढी खुद नाफा कमाएका छन् । आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ८ विकास बैंकले ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । 

विकास बैंकहरुको यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४५.२० प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा विकास बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार रुपैयाँ नाफा कमाएका थिए ।

समिक्षा अवधिमा ३ वटा बैंकहरुको नाफामा गिरावट आएको छ भने एउटा बैंक घाटमा पुगेको छ । अन्य बाँकी सबैको बढेको छ पहिलो त्रैमासमा सर्वाधिक नाफा कमाउनेमा गरिमा विकास बैंक छ । बैंकको नाफा ११ प्रतिशत वृद्धि भई २५ करोड ५ लाख ७५ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने बैंकले २२ करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । तीन महिनामा बैंकले २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको तुलनामा भने बैंकको नाफा २०.२४ प्रतिशतले घटेको छ । गत आवको सो अवधिमा बैंकले २८ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

तेस्रो स्थानमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पनि २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको तुलनामा शाइन रेसुङ्गाको नाफा १५.१७ प्रतिशत घटेको छ । गत आवको पहिलो त्रैमासमा शाइनले २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

null

यता, कामना सेवा विकास बैंकले भने १२.९२ प्रतिशत नाफा बढाएको छ । तीन महिनामा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ । जबकि, गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा १७ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा सर्वाधिक नाफा बढाउनेको पहिलो सूचीमा भने सांग्रिला डेभलपमेन्ट बैंक देखिएको छ । बैंकको नाफा ४६.४८ प्रतिशत वृद्धि भई ८ करोड ८२ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

यता, महालक्ष्मी विकास बैंकले पनि नाफा ३.४२ प्रतिशत बढाएर ९ करोड ७५ लाख रुपैयाँ पुर्याएको छ । तर, लुम्बिनी विकास बैंकमा ३ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा देखिएको छ । जबकि, गत आवको पहिलो त्रैमासमा बैंकले २० करोड १९ लाख बढी नाफा कमाएको थियो ।