काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रक्राउ गरेका पूर्वसांसद एवम् प्रभु समूहको संस्थापक अध्यक्ष देवीप्रकाश भट्टचनलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा राखेको छ । सीआईबीले थप अनुसन्धानका लागि अदालतसँग मंगलबार आठ दिनको समय माग गरेकोमा सरकारी वकिलको कार्यालयले हिरासतमा राख्नु नपर्ने गरी हाजिरी जमानीमा राखेको हो ।
सीआईबीले भटट्चनलाई गत कार्तिक ११ गते ललितपुरबाट पक्राउ गरेको थियो । अनुसन्धानको लागि अदालतले पहिलो पटक सीआईबीलाई पाँच दिनको समय दिएको थियो । दोस्रो पटक सीआईबीले पाँच दिनको समय माग गरेकोमा अदालतले दुई दिनको समय दिएको थियो । तेस्रो पटक पनि पाँच दिनको समय माग गरेकोमा अदालतले दुई दिन मात्रै समय दिएको थियो । चौथौ पटक भने पाँच दिन नै समय थप गरेको थियो ।
चौथौ पटक माग गरेको समय मंगलबार सकिएको छ । अनुसन्धानको लागि आठ दिन माग गर्दैै सीआईबीले भट्टचनलाई अदालत लगेको थियो । तर, सरकारी वकिलको कार्यालयले एकलौटी रुपमा साधारण तारेखमा छाड्ने निर्णय गरेको सीआईबीका प्रमुख मनोज केसीले बताए । “भर्खरै अनुसन्धान सुरु हुँदैछ । यतिखेर कसरी छोड्न सकिन्छ । उहाँलाई छोडेर अनुसन्धान गर्ने हो भने अनुसन्धान प्रभावित बन्छ,” उनले भने । सरकारी वकिलको कार्यालयको निर्णय आफुलाई मान्य नभएको उनले बताए ।
भट्टचनले प्रभु मेनेजमेन्ट मार्फत मुलुकभरका सहकारीको रकम ठगी गरेको आरोप छ । भट्टचनले प्रभु समूहको नाम देखाएर मेनेजमेन्ट मार्फत सहकारीको रकम ठगी गरेको पिडित सहकारीहरुले आरोप लगाएका छन् । भट्टचनले सहकारीको रकम भुक्तानी नगरेको भन्दै पिडित सहकारी तथा मेनेजमेन्टकी वर्तमान अध्यक्ष कुसुम लामाले धेरै पहिला देखि सीआईबी, नेपाल राष्ट्र बैंक, सहकारी महासंघ, प्रधानमन्त्री कार्यालयमा समेत उजुरी दिएका थिए । तर, नेकपा एमालेको सांसद समेत रहेका भट्टचनलाई ओली सरकारकै साथ थियो । जेनजी प्रदर्शन पछि बनेको अन्तरिम सरकार गठन भएसँगै सीआईबीले उनलाई पक्राउ गरेको हो ।
हजारौ सहकारीको अर्बो रकम ठगी गरेका भट्टचनलाई अदालतसम्म पनि पुग्न नदिई सरकारी वकिलको कार्यालय हाजिर जमानीमा राखेको छ । सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता रामहरी शर्मा काफ्लले भट्टचनलाई थुनामा राखी रहनुपर्ने अवस्था नदेखिएको बताए । “जमानी हाजिरीमा राखेपनि सीआईबीले अनुसन्धान गरी रहनेछन् । कानुनी प्रक्रिया चलि रहनेछ,” उनले भने ।
सीआईबीले अनुसन्धान गरेको केशमा अनुसन्धान सकिएपछि मात्रै सीआईबीले कार्यालयलाई प्रतिवेदन सहित राय पेश गर्छ । सोही प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले अभियोगपत्र अदालत बुझाउँछ । त्यसपछि थुकछेक बहस हुन्छ । थुकपेछ पछि धरौटी तारेख दिने की पुर्पक्षका लागि थुनामा पठाउने भन्ने विषय इजलाशले आदेश गर्छ । तर, भट्टचनको केशमा भने सरकारी वकिलको कार्यालयले केश अदालतसम्म पनि पुग्न दिएन ।
भट्टचनको केश सामान्य हैन । तर, सरकारी वकिलको कार्यालयले गरेको निर्णयले सरकारी वकिलको कार्यालय प्रभावित भएको स्पष्ट पार्ने एक अधिवक्ताले बताए । नेपालमा यस्ता अनेकौ घटना छन् । सामान्य केशहरु अदालतसम्म पुग्छन् तर, ठूला ठूला केशहरु सरकारी वकिलको कार्यालय अदालतसम्म पुग्न नै दिदैनन्। “सरकारी वकिलको कार्यालय र प्रभु समूहको मिलेमतोमा नै भटट्चनलाई हाजिर जमानीमा राखिएको हो । नत्र यति ठूलो केश अदालतसम्म त पुग्नै पर्छ्,” उनले भने ।
स्रोतका अनुसार सरकारी वकिल कार्यालयमा एमालेको सेटिङ छ । कार्यालयमा तल देखि माथिसम्म एमालेको पकड छ । त्यसैले सहकारीको अर्बो रकम ठगीका आरोपित भटट्चन माथि पुरै अनुसन्धान हुँदै गर्दा सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा राखि दिएको छ ।
भट्टचनलाई हाजिर जमानीमा राख्न प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सरकारी वकिलको कार्यालयमा मेलोमेसो मिलाएको स्रोतको दाबी छ । विद्या भण्डारी निकट मानिने शेरचनले सेटिङको लागि भन्दै बैंकका ऋणीहरुसँग रकम समेत माग गरेको स्रोतको दाबी छ । बेला बखत बैंकले बनाउने डमी ऋणीहरुसँग नै बैंकले रकम माग गरेको बैंकको उच्च सोतले बतायो । शेरचन प्रभु मेनेजमेन्टमार्फत सहकारीको रकम ठगी गर्ने योजनाका मुख्य योजनाकारमध्ये एक मानिन्छन् ।
यसअघि शेरचन सीआईबी प्रमुख केसीसँग भेट्ने ठूलै प्रयत्न गरेका थिए । तर, सीआईबीमा सेटिङ नमिलेपछि उनी सरकारी वकिल कार्यालय पुगेको स्रोतको दाबी छ । वकिलको कार्यालयमा नेकपा एमालेको राम्रो पकड भएका कारण सेटिङ मिलाउन सहज भएको स्रोतको दाबी छ । शेरचनले मंगलबार दिउँसो नै सबै सेटिङ मिलाएको भन्दै नजिकका साथीहरुसँग खुशी साटेका थिए ।
गत शुक्रबार सीआईबी र नेपाल राष्ट्र बैंकको टोलीले प्रभु बैंकको मुख्यालय अनामनगरमा छापा मारेको थियो । बैंकको सञ्चालक समितिको बैठक चलिरहेको बेला सीआईबीको टोली बैंक पुगेको थियो । तर, टोली पुग्नु अघि राष्ट्र बैंकले एक अधिकारीले शेरचनलाई सीआईबी आउदै गरेको सूचना दिएपछि शेरचन मास्क लगाएर बैठकबाट भागेका थिए ।
सो दिन सीआईबीले बेलुका साढे नौ बजेसम्म बैंकको मुख्यालयमा छानबिन गरेको थियो । सीआईबीको टोली फर्केपछि शेरचनले आफु निकटका कर्मचारी बोलाएर बैठक बसेर छलफल गरेका थिए ।
आइतबार देखि भने शेरचन नयाँ भेषमा बैंक पुग्ने गरेको बैंकका कर्मचारीहरु बताउँछन् । शेरचनले गाडी पनि परिवर्तन गरेका छन् । फरक भेषमा र मास्क लगाएर बैंक पुग्ने गरेका छन् । बैंकका कर्मचारीमा आफु कार्यलय नआएको बताउन भनेको कर्मचारीहरु बताउँछन् ।
मुना कुँवर