शीर्षकहरू

आकर्षक लाभांश घोषणा गरेकै दिन मूल्य घटेर एनआरएनको किन भयो उच्च कारोबार ?

सुध्रिएन नेप्से, नाफा बुकिङ र लगानीकर्ताको मनोवैज्ञानिक दबाबमा शेयरबजार

आकर्षक लाभांश घोषणा गरेकै दिन मूल्य घटेर एनआरएनको किन भयो उच्च कारोबार ?

काठमाडौं । मंगलबार झिनो अंकको सुधार आएको नेप्से बुधबार पुन ओरालो लागेको छ । लगातार तीन कारोबार दिनको गिरावटपछि नेप्से मंगलबार ३.२१ अंकले बढेको थियो । बुधबार नेप्से २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको छ । 

गत साताको अन्तिम कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंक बढेर बन्द भएको थियो। विश्लेषकहरुका अनुसार बजारमा हाल नाफा बुकिङ र लगानीकर्ताको मनोवैज्ञानिक दबाबका कारण सामान्य गिरावट आएको हो।

नेप्से घटेपनि बुधबारको बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ । आजको बजारमा ४९ कम्पनीको मूल्य बढ्यो, १९८ कम्पनीको घटेको र ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

पछिल्लो समय नेप्सेमा सूचीकृत भएका कम्पनीहरुको शेयरको माग उच्च रहदा अधिकांशको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा हालै सूचीकृत भएका बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, लगायतको शेयरको माग बढ्दा शेयरमूल्य उच्चदरले बढेको छ ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ८.७२ प्रतिशत घटेको छ।

नयाँ कम्पनीमा शेयर सप्लाई निक्कै कम भएकोले पनि ती कम्पनीको शेयर मूल्यमा सर्किट लागिरहेको छ । तर पुराना कम्पनीमा माग अनुसार नै शेयर सप्लाई रहेका कारण ती कम्पनीमा सर्किट लाग्न नसकेको हो।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । लाभांश घोषणा गरेकै दिन शेयर मूल्य घटेर उच्च कारोबार भएकाले यो कम्पनीमा इन्साइडर ट्रेडिङ भएको हुनसक्ने आशंका गरिएको छ । गत साताहरुमा निरन्तर शेयर मूल्य बढेको कम्पनीले उच्च लाभांश घोषणा गर्नासाथ भाउ घट्नुले यसलाई पुष्टि गर्ने जानकारहरु बताउँछन् । 

कात्तिक २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । साथै बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।

तर, आकर्षक लाभांश सार्वजनिक गरेको कम्पनीको शेयर भाउ भने घटेको छ । कम्पनीको शेयर भाउ २.४४ प्रतिशत अर्थात ५० रुपैयाँले घटेर १ हजार ९ सय ९५ रुपैयाँमा झरेको छ । लाभांश सम्बन्धीको सूचना अग्रिम चुहिएकाले लाभांश घोषणा पश्चात शेयर बिक्रीमा चाप परेको बजारका जानकारहरु बताउँछन् । 

null