काठमाडौं । प्रभु म्यानेजमेन्ट मार्फत सहकारी रकम ठगी प्रकरणमा पूर्व सांसद एवम् प्रभु समूहका संस्थापक देवी प्रकाश भट्टचनलाई जोगाउन प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) होबिन्द्र बोगटीलाई सस्तो मूल्यमा जग्गा उपहार दिएको पाइएको छ ।
म्यानेजमेन्टकी वर्तमान अध्यक्ष कुसुम लामाले सीआईबीमा दिएको बयानका अनुसार बैंकका सिईओ शेरचनले भट्टचनलाई जोगाउन भन्दै बोगटीलाई कोत्से हाउजिङको ९ आना जग्गा बजार मूल्यको एक तिहाई मूल्यमा (एक करोेड ३६ लाख रुपैयाँ) मा नामसरी गरेर दिएको बताएकी छिन् । बोगटी यसअघि सीआईबीको वित्तीय अनुसन्धान शाखाका प्रमुख थिए । उनले नै भट्टचनको केश अनुसन्धान गरी रहेका थिए ।
भट्टचनको केश कमजोर बनाउन अशोक शेरचनले बोगटीसँग सेटिङ गरेको लामाको दाबी छ । जसबापत शेरचनले कोत्से हाउजिङको जग्गा विक्री गर्नका लागि नाटकिय रुपमा बोलपत्र आवहन गरेको, बोलपत्रमा बोगटीको श्रीमतीको नाममा आवेदन परेको र बोगटीको श्रीमतीलाई सस्तो मूल्यमा जग्गा विक्री गरेको उनको दाबी छ । ‘जग्गा विक्रीका लागि अक्सनको नाटक मात्रै हो । सिधै जग्गा दिँदा शंका हुने भएकोले शेरचनले अक्सनको नाटक गरी जग्गा नामसारी गरिदिएका हुन्,’ उनले भनिन् ।
यस विषयमा छानबिन गरिदिन भन्दै २६ असोज २०८२ मा लामाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएकी थिइन् । २४ असोज २०८२ मा गृहमन्त्रालय र प्रधानमन्त्रीको निजी सचिवालयमा निवेदन दिएकी थिइन् ।
प्रभु बैंकले नाटकिय अक्सन गरी काठमाडौ स्थित डाडा पौवा, रामकोट–६ को कित्ता नम्बर २४१९ को ९ आना जग्गा कौडीको भाउमा बोगटीको श्रीमती शिबा अधिकारीलाई विक्री गरेको निवेदनमा उल्लेख छ ।
‘सिभिल सहकारी संस्थाको रकमबाट कोत्से हाउजिङको नाममा खरिद गरी डेभलभ गरिएको जग्गा प्रभु बैंकमा धितो रहेको थियो । जग्गाको बजार मूल्य प्रति आना ३५ लाख रुपैयाँ पर्छ । तर, बोगटीले १४ जेठ २०८२ मा श्रीमतीको नाममा प्रति आना १५ लाख ११ हजारमा खरिद गरेका छन्’ निवेदनमा उल्लेख छ ।
बैंकले यसअघि पनि जग्गा विक्रीको लागि बोलपत्र आवहन गरेको थियो । १७ साउन २०८१ मा गरिएको बोलपत्रमा बाग्लुङ १३ का एक व्यक्तिले एक करोड ३५ लाख रकम कबुल गरी १० प्रतिशतले हुन आउने रकम पनि जम्मा गरेका थिए । तर, त्यस बैंकले बाबुराम शर्मालाई जग्गा दाखिला गर्न नदिई सोही जग्गा एक वर्ष पछि एक करोड ३६ लाख रुपैयाँमा कोट गर्न लगाई पास समेत गरिदिएको निवेदनमा लेखिएको छ । सोही क्षेत्रको कित्ता नम्बर २३३२ को ४ आना घरजग्गालाई प्रशान्त थापाले एक करोड ३५ रुपैयाँ मात्र बोलपत्रमा आवहनमा सहभागी भएर १० प्रतिशत रकमको लागि प्रभु बैंक कै चेक जमानत राखेको निवेदनमा लेखिएको छ ।
उता, एसएसपी बोगटीले लामाले लगाएको आरोप सत्य नभएको दाबी गरेका छन् । सो जग्गा उनका भाईले खरिद गरेको उनले बताए । ‘भाईले अस्ट्रेलियाको नागरिकता लिएका छन् । ‘त्यसैले नेपालमा उनको नामबाट जग्गा खरिद गर्न नमिल्ने भएपछि मेरो श्रीमतीको नाममा जग्गा खरिद गरेका हुन्,’ उनले भने । जग्गा खरिद गर्दा सबै कानुनी प्रक्रिया पुरा गरेर नै खरिद गरिएको उनको दाबी छ ।
तर, लामाले भने प्रभु बैंकका शेरचन र बोगटी बीच साँठगाँठ अक्सनबाट जग्गा विक्रीको नाटक रचिएको बताएकी छिन् । यसबापत बोगटीले भट्टचनको केश कमजोर बनाईदिएको उनले बताए ।
यस्तै, शेरचनले राजेन्द्र शाक्यसँगको मिलेमत्तोमा भट्टचनको विरगन्ज स्थित नेपाल सिपिङ कम्पनीले प्रभु बैंकलाई भुक्तानी गर्नुपर्ने साँवा ब्याज रकम बैंकबाट नै मिलाएको लामाले दाबी गरेकी छिन् । उनका अनुसार भट्टचनको शिपिङ कम्पनीले प्रभु बैंकलाई ४५ करोड रुपैयाँ भुक्तानी गर्न छ । राष्ट्र बैंकले सो रकम असुल उपर गर्न प्रभु बैंकलाई ताकेता गरेको थियो । तर, प्रभु बैंकका सिईओ शेरचनले राजेन्द्र शाक्यको होटलको नाममा कर्जा प्रवाह गरी भट्टचनको भुक्तानी मिलान गरेका थिए ।
२८ असोज २०८२ मा शेरचनले प्रभु बैंकबाट राजेन्द्र शाक्यको ग्वार्को स्थित दि म्यासिफ होटलको नाममा ४८ करोड रुपैयाँ जम्मा गरेको लामाको दाबी छ । सोही रकम २९ असोज २०८२ मा नेपाल फाइनान्स मार्फत घुमाई प्रभु बैंकमा रहेको नेपाल शिपिङ कम्पनीको खातामा जम्मा भएको छ ।
मुना कुँवर