काठमाडौं। कुमारी वहाल (कुमारी घर) को छानो जीर्णाेद्धार गर्न १ करोड २५ लाख ४७ हजार ८६४ रुपियाँ लागत अनुमान गरिएको छ । आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिँगटी, पर्खाल, काठ लगायतका छानासँग सम्वन्धित अवयवहरुको जीर्णोद्धार गर्न यो लागत आएको हो ।
कुमारी घरको छाना चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरुका बिच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो । कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डंगोलले, मौसम प्रतिकुलता हुनुअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्नु पर्नेमा जोड दिँदै जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिएका छन्न।
‘पुनःनिर्माण गर्दा यसको सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्ष, स्वामित्व लगायत विषयमा विवाद सिर्जना हुनुहुँदैन । यसका लागि सबै पक्ष सहभागी गराएर विज्ञहरुको निगरानी समिति गठन गर्नुपर्छ । पुनःनिर्माणमा कुनै द्विविधा भए वा समस्या आए तत्काल समाधान दिन सक्ने निकायगत समन्वय संयन्त्र बनाउनु पर्छ ।’ उहाँले कार्यान्वयन प्रक्रिया निर्माणमा मार्गनिर्देश गरे ।
बैठकमा गुठी संस्थानका प्रशासक शैलेशराज कुँवर, पुरातत्व विभागका सिनियर डिभिजन इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ, हनुमानढोका दरवार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेल, पुरातत्व अधिकृत अमृता महर्जन, महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई, हनुमानढोका दरबार संरक्षण कार्यक्रमका निमित्त प्रमुख चीन बज्राचार्यसहित अध्ययन समितिका पदाधिकारीहरु सहभागी थिए ।
गएको बर्खायाममा कुमारी घरको छानो चुहिने भएपछि जीर्णोद्धारको प्राविधिक पक्ष अध्ययन गर्न साउन २० गते समिति गठन भएको थियो । समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्व विज्ञ पुरुषोत्तम डंगोल हुनुहुन्थ्यो भने सदस्यहरुमा विभागका इञ्जिनियर रोशन डंगोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र महानगरपालिकाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य थिए ।
अध्ययन समितिले दिएको प्रतिवेदन अनुसार कुमारी घरका नामले चिनिने कुमारी वहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही धाम र मेथहरुले ठाउँ छोड्ने अवस्था छन् । कतिपय दलिनहरु कीराले खाएर ससाना प्वाल पारेको छ । ठाउँ ठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलामा शिशाले छोपेर राखिएको भित्तेचित्र जोगाउनु पर्ने अवस्थामा छ । धाम वाहेक अधिकांश काठका अवयवहरु अग्राखका नभई कुकाठ प्रयोग भएकोले तत्काल जीर्णोद्धार गर्नु पर्ने देखिएको छ । बैठकमा समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिए ।
बज्राचार्यका अनुसार झिंगटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी चाङ्ग फुटे खसेको छ । म्बंगचा खसेको छ । आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठलहरु खुस्केका छन् । झिगटीहरु खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरु फेर्नु पर्ने अवस्थाका छन् । गजुरको वेस मर्मत गर्नुपर्ने अवस्थामा छ । कोपु थप्नुपर्ने अवस्थामा छ । बुइँगलको पर्खाल जीर्ण भएको छ । फलेक माथि प्लाष्टिक फेल्ट नराखी माटोमा झिँगटी राखेका कारण फलेकहरु कुहिएका छन् ।
प्रतिवेदनले, श्रीको सेवा पूजालाई अक्षुण्ण राख्दै, खट बाँधेर जीर्णाेद्धार गर्नुपर्ने भागको एकतर्फबाट विस्तारै विस्तारै भत्काउने सुझाव दिएको छ । यसबाट आएका सामाग्रीहरुको सुरक्षित भण्डारण गर्ने, पुनःप्रयोग गर्न मिल्नेसम्म सामग्रीको अधिकतम पुनःप्रयोग गर्ने सुझावमा उल्लेख छ । छानाको सम्पूर्ण भागमा प्लास्टिक फेल्ट विछ्याउने, मक्किएका मुसी, लाकासी, फलेकलाई आवश्यकता अनुसार थप गर्न सकिने प्रतिवेदनले औल्याएको छ ।
२०७२ सालको भूकम्पले हनुमान ढोका दरबार क्षेत्रका १० वटा संरचना ध्वस्त र कुमारी वहालसहित २१ वटा संरचना आंशिक क्षति भएको विवरणमा राखिएको थियो । त्यस बेला नै कुमारी घरलाई ध्वस्त प्रकृतिमा राखिनु पर्नेमा नराखिएको अधिकारीहरुको भनाइ छ । आंशिक क्षतिमा राखिए पनि तत्काल मर्मत सम्भार नभएको, अन्य विभिन्न समयमा मर्मत सम्भारको काम भएको देखिए पनि विषय विज्ञको उपस्थिति नभएका कारण यसले वहालमा क्षति गरेको प्रतिवेदन उल्लेख छ । मर्मतमा अग्राखको काठ, पक्की इटा जस्ता टिकाउ निर्माण सामाग्रीमा ध्यान नदिइएको, भित्तेचित्रको पुरातात्विक वातानुकुलित संरक्षण हुन नसकेको, घरको पश्चिम तर्फको भाग भासिएको हुँदा छानो मर्मत पश्चात फ्लोर, वाल, झ्याल ढोका लगायतको संरक्षण एकै पटक गर्नु पर्ने देखिएको छ ।
श्री कुमारी घरको ऐतिहासिक पृष्ठभूमि
राजा जय प्रकाश मल्लका पालामा वि. सं. १८१४ मा यो वहाल निर्माण गरिएको हो । हनुमानढोका दरबार परिसर, वसन्तपुरस्थित काष्ठकला र वास्तुकलाले सुसज्जित नेवारी शैलीको यो वहाल कुँदिएका थाम, झ्याल, मेथको कलात्मक सौन्दर्यले भरिएको छ । प्रवेश द्वारमा प्रस्तरका जोर सिंह, भित्री भागमा खुला चोक (वहाल), तान्त्रिक भित्तेचित्र संरक्षित तीन तले चौघेरा संरचना सहित झिंगटी छाना भएको घर बसन्तपुर क्षेत्रको स्मारक हो । यो घर तलेजु भवानीको अवतार मानिने जीवित देवी श्री कुमारीको निवास हो ।
आर्थिकन्यूज