काठमाडौं । २१ माघ २०८० मा प्रभु बैंकको रुकुम पश्चिमको आठबिसकोट शाखामा ठुलो विस्फोट भयो ।
त्यहाँका अपरेशन इन्चार्ज नीरजबिक्रम शाह एक करोड ३५ लाख रुपैयाँ अपचलन गरी फरार भए । बैंकका तत्कालीन कर्णाली प्रदेश प्रमुख शरदराज तिमिल्सिनाले तत्कालै छानबिन सुरु गरे ।
उनको नेतृत्वमा बैंकको टोलीले अनुसन्धान ग¥यो, र प्रहरीले सहयोगका साथ शाहलाई भारतको गोवाबाट ९ चैत २०८० मा पक्राउ गरी नेपाल ल्यायो । अहिले शाह जेलमा छन् ।
अनुसन्धानपछि बैंकले पीडितमध्ये १४ जनालाई ७० लाख रुपैयाँ फिर्ता पनि ग¥यो ।
यो कारबाहीले बैंकको छवि जोगाएको झैं देखियो, तर त्यो विश्वास धेरै समय टिकेन ।
आठबिसकोटको धुलो पनि नबस्दै १७ साउन २०८१ मा अर्को ठगी उजागर भयो ।
यसपटक प्रभु बैंकको बिर्तामोड शाखाका अपरेशन इन्चार्ज प्रमोद सिटौला पनि करोडौं रुपैयाँ अपचलन गरी बेपत्ता भए ।
मुख्यालयको आन्तरिक लेखापरीक्षण विभागको टोली तुरुन्तै बिर्तामोड पुग्यो । छानबिन सम्पन्न गरी प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाइयो । तर त्यसपछि — पूर्ण मौनता ।
बैंकको उच्च व्यवस्थापनले न त पीडितलाई राहत दियो, न त दोषीमाथि कारबाही ग¥यो ।
बैंकले भन्यो, “दाबी नआएसम्म फिर्ता दिँदैनौं ।”
१४ असोज २०८१ मा निवेदन दिएपछि मात्रै अन्जु दर्जीलाई ४८ लाख ८ हजार ७७० रुपैयाँ र सरिता चापागाईंलाई १२ लाख ५० हजार ७९१ रुपैयाँ भुक्तानी गरियो ।
तर, आन्तरिक स्रोतका अनुसार सिटौलाले करिब ६ करोड रुपैयाँ अपचलन गरेका थिए । तर, दुईजनाबाहेक अरू पीडितले अझै क्षतिपूर्ति पाएका छैनन् ।
अझ आश्चर्य त के भने — सिटौलामाथि अहिलेसम्म कुनै उजुरी दर्ता भएको छैन, उनलाई बर्खास्त समेत गरिएको छैन ।
आठबिसकोट र बिर्तामोड घटनाका फरक पाटा
आठबिसकोट घटनामा संलग्न अपरेशन इन्चार्ज नीरजबिक्रम शाहीले निक्षेपकर्ताको रकम अपचलन गरी वेपत्ता भएपछि तत्कालीन कर्णाली प्रदेश प्रमुख तिमिल्सिनाको नेतृत्वमा टोलीले घटनाको अनुसन्धान ग¥यो।
अनुसन्धानमा शाहीले निक्षेपकर्ताको एक करोड ३५ लाख रुपैयाँ अपचलन गरेको भेटियो । त्यसपछि तिमिल्सिनाले शाहीविरुद्ध प्रहरीमा जाहेरी दिए । जाहेरीको आधारमा प्रहरीले एक महिना पन्ध्र दिनमै शाहलाई पक्राउ गरी जेल चलान ग¥यो ।
तर, बिर्तामोडको सोही प्रकृतिको घटनामा संलग्न प्रमोद सिटौलाविरुद्ध बैंकले अहिलेसम्म अभियोग दर्ता गरेको छैन । बैंकले उनलाई औपचारिक रूपमा बर्खास्त समेत गरेको छैन, बैंकका एक अधिकारीले बताए ।
स्रोतका अनुसार बिर्तामोड घटनामा बैंकको व्यवस्थापन समूहकै ‘कनेक्सन’ भएकै कारण सिटौला कारबाहीबाट जोगिएका हुन् । सिटौलामात्र होइन, बैंकले बिर्तामोड शाखाका शाखा प्रबन्धक उप्रेन्द्र नेपालमाथि पनि कुनै कारबाही गरेको छैन ।
किन भएन कारबाही ?
सामान्यतया बैंकमा गरिने प्रत्येक कारोबार अपरेशन इन्चार्जले जाँच गरेपछि अन्तिम चेकजाँच शाखा प्रबन्धकले गर्छन् । तर, बिर्तामोड घटनामा लाखौं रुपैयाँ चेकबिनै भुक्तानी हुँदा समेत शाखा प्रबन्धक मौन रहे । यसले घटनामा शाखा प्रबन्धकको पनि मिलेमत्तो रहेको देखाउँछ ।
बैंक स्रोतका अनुसार सिटौला र शाखा प्रबन्धक नेपालको प्रभु बैंकको व्यवस्थापनसँगको कनेक्सनकै कारण कारबाही नभएको हो । तर यी दुबैको व्यवस्थापनसँगको सम्बन्ध फरक–फरक किसिमको रहेको बताइन्छ ।
उप्रेन्द्र नेपाल बिर्तामोड शाखामा जानु अघि बैंकको मुख्यालयमा ऋण प्रशासन फाँटका शाखा प्रबन्धक थिए । सीईओ अशोक शेरचन र प्रमुख बजार व्यवस्थापक रश्मी पन्तले चाहेअनुसारको ऋण फाइल पास नगरेपछि उनलाई बिर्तामोड सरुवा गरिएको थियो । मानव संसाधन विभागले सरुवा र बढुवाको अधिकारको दुरुपयोग गर्दै नेपाललाई सरुवा गरेको बैंक स्रोतले जनाएको छ ।
त्यतिबेला रमेश थापा बैंकको मानव संसाधन विभागका प्रमुख थिए । थापा प्रमुख बजार व्यवस्थापक पन्तका निकट व्यक्ति भएको बैंक स्रोतको दाबी छ । थापालाई पन्तले नै एनआईसी एशिया बैंकबाट प्रभु बैंकमा ल्याएकी थिइन् । थापाले पन्तकै निर्देशनमा काठमाडौंका उप्रेन्द्र नेपाललाई बिर्तामोड सरुवा गरेका थिए । त्यतिमात्र होइन, उनलाई जागिर छोड्नका लागि अप्रत्यक्ष दबाब पनि दिएको स्रोतको दाबी छ । दबाबकै कारण उनले प्रभु बैंक छोडेका हुन् ।
शेरचन र पन्तले भनेअनुसार काम नगरेपछि बिर्तामोड शाखा पुगेका नेपाल र अपरेशन इन्चार्ज प्रमोद सिटौलाबीच घटनाअघि राम्रो सम्बन्ध रहेको स्रोतले दाबी गरेको छ । घटनामा सिटौला प्रत्यक्ष संलग्न नदेखिए पनि औपचारिक रूपमा उनी पनि जिम्मेवार हुने तर्क गरिएको छ ।
तर, बैंकका सीईओ शेरचन र पन्तको वित्तीय अपचलनबारे सूचना बाहिर नजाओस् भन्ने डरले बैंकले उनलाई पनि कारबाही नगरेको स्रोतको दाबी छ । स्रोतका अनुसार, “शेरचन र पन्तले नेपाललाई मन नपराएर बिर्तामोड पठाएका थिए, तर नेपाल उनीहरूको वित्तीय अपचलनका धेरै जानकारीहरू राख्थे । त्यसैले उनलाई कारबाही गरेमा उनले सबै खुलासा गर्ने डरले बैंकले उनलाई कारबाही नगरी राजीनामा दिन दबाब दिएको हो,” भनिएको छ ।
बैंकको शाखा कार्यालयमा भइरहेको अनियमितताबारे बिर्तामोड शाखाका अन्य कर्मचारीहरूले तत्कालीन प्रदेश प्रमुख बद्रीबहादुर कटुवाललाई जानकारी गराएका थिए । तर, कटुवाल समेत मौन बसेको स्रोतको दाबी छ । पछि कर्मचारीहरूले घटनाबारे बैंकको केन्द्रीय कार्यालयमा खबर गरेका थिए ।
बजार व्यवस्थापक प्रमुख पन्तको भूमिका
प्रभु बैंकले व्यापार विस्तार तथा प्रवद्र्धनका लागि अरबिट एजुकेशन कन्सलटेन्सीसँग शैक्षिक ऋण प्रवाह गर्ने सम्झौता गरेको थियो । यो सम्झौता मुख्य पात्र बैंककी बजार व्यवस्थापन प्रमुख पन्त हुन् । उनकै संयोजन अरबिट र बैंक बीच सम्झौता भयो ।
सम्झौता अनुसार, अरबिटले प्रभु बैंकलाई वैदेशिक अध्ययनमा जाने विद्यार्थी उपलब्ध गराउने, बैंकले ती विद्यार्थीलाई कर्जा दिने, र कर्जा प्रवाह गरेबापत बैंकले कर्जा रकमको ०.७५ प्रतिशत कमिसन लिने व्यवस्था थियो ।
बैंकले लिने कमिसनमध्ये आधार अरबिट कन्सलटेन्सीलाई दिने सहमति पनि गरियो । जुन नियम विपरित थियो । यसरी अरबिटलाई दिइएको आधा कमिसन रकम धेरै ठाउँमा बाँडिने गरेको कर्मचारीहरूको दाबी छ । सो कमिसनको बाँडफाँडमा पन्त र शेरचनको हिस्सा परेको हुनसक्ने कर्मचारीहरुको दाबी छ ।
त्यतिमात्रै हैन शेरचन र पन्तले शैक्षिक कर्जाबाट नै कमिसन पाउने अर्को बाटो पनि बनाए । उनीहरुले अरबिट बाहेक अन्य कन्सल्टेन्सीबाट आउने विद्यार्थीहरुलाई कर्जा प्रवाह गर्दा पनि सोही दरमा अरबिट नै कमिसन दिने व्यवस्था गरे ।
बैंकले कमलादीस्थित शाखा कार्यालयलाई “एजुकेशन हब” नै बनाएर यस्तो काम गरेको थियो ।
शैक्षिक कर्जा मात्र होइन, अरबिट एजुकेशन कन्सलटेन्सीले विद्यार्थीहरूलाई वैदेशिक अध्ययनका लागि ब्यालेन्स सर्टिफिकेट बनाउन एकदिन रकम जम्मा गराउने काममार्फत सबैभन्दा बढी आम्दानी गर्ने बाटो बनाएको थियो ।
यो काम जोखिमपूर्ण भए पनि कन्सलटेन्सीले रश्मी पन्तको सहयोगमा झापाको बिर्तामोड शाखाका अपरेशन इन्चार्ज सिटौलालाई आफ्नो हातमा लिएको थियो । पन्तले नै सिटौलालाई अरबिटको एजेण्ट नै बनाइन् । सिटौलाले पनि पन्तले भने अनुसार काम गर्न थाले ।
बैंकको उच्च अधिकारीको साथ पाएका सिटौलाले आफनो जिम्मेवारी भन्दा फरक काम गर्न थाले । कन्सलटेन्सीले जम्मा गरेको रकमको ०.४ प्रतिशत कमिसन पाउँथ्यो, तर सिटौलाले १ प्रतिशतसम्म कमिसन लिएर सम्बन्धित खाताको रकम पुन : कन्सलटेन्सीको खातामा जम्मा गर्ने वातावरण बनाएका थिए । यसरी सिटौलाले कन्सलटेन्सीसँग राम्रो सम्बन्ध बनाए । कन्सल्टेन्सी राम्रो सम्बन्ध बनाएकै कारण आर्थिक अपचलनमा पनि उनले पन्तको समर्थन प्राप्त गरेको स्रोतले दाबी गरेको छ ।
सिटौलाले पन्तको भने अनुसार काम गरेकै कारण उनलाई जोगाउन बैंकले उनी विरुद्ध अभियोग दर्ता नगरेको स्रोतको दाबी छ ।
सिटौला बिर्तामोड सरुवा हुनुभन्दा अघि चन्द्रगढी शाखामा कार्यरत थिए । त्यहाँका शाखा प्रबन्धक लक्ष्मीप्रसाद रेग्मीसँग विवाद भएपछि उनलाई बिर्तामोड शाखा सरुवा गरिएको थियो ।
आर्थिकन्यूज