शीर्षकहरू

बेलायतको शरणार्थी कानुनमा कडाइ, स्थायी बसोबास गर्न २० वर्ष पर्खनु पर्ने

बेलायतको शरणार्थी कानुनमा कडाइ, स्थायी बसोबास गर्न २० वर्ष पर्खनु पर्ने

काठमाडौं । बेलायतमा शरणार्थीहरूले स्थायी रूपमा बसोबास गर्न २० वर्ष पर्खनु पर्ने भएको छ। गृह सचिव शबाना महमूदले सोमबार घोषणा गर्ने योजना अन्तर्गत बेलायतमा शरण पाएका व्यक्तिहरूले स्थायी रूपमा बसोबास गर्न आवेदन दिन २० वर्ष कुर्नु पर्नेछ।

बेलायतमा शरणार्थीका नयाँ नियम अनुसार अब शरणार्थीको रूपमा ब्रिटेन छिरेका व्यक्तिले स्थायी बसोबास (पर्मानेन्ट रेसिडेन्सी) का लागि आवेदन दिन २० वर्ष बेलायतमा बस्नुपर्ने व्यवस्था हुन लागेको छ।

हालको व्यवस्था अनुसार शरणार्थीले ५ वर्ष अस्थायी बसोबास गरेपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउँछन्। तर नयाँ प्रस्तावित नियमले यो अवधि चार गुणा बढाएर २० वर्षमा पुर्‍याउन लागिएको हो। 

नयाँ नीति अनुसार, २० वर्ष बेलायत बसेको समीक्षा सरकारी अधिकारीले गर्नेछन्। समीक्षा पास गरेपछि मात्र स्थायी बसोबासका लागि आवेदन दिन सकिनेछ। साथै, अस्थायी बसोबास प्राप्त गरिसकेकाले बेलायतको नियम कानुन नमान्ने अवस्था देखिएमा तिनीहरूलाई जन्मेको देशमै फिर्ता पठाइने उल्लेख गरिएको छ।

बेलायतमा पछिल्ला वर्षहरूमा गैरकानूनी रूपमा प्रवेश गर्नेको संख्या बढ्दै गइरहेकाले सरकारले कडाइ गर्न लागिएको बताइएको छ। नयाँ नीति यही प्रवाह रोक्ने उद्देश्यले ल्याइएको बुझिन्छ।