शीर्षकहरू

असोज महिनामा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

तीन महिनामै साढे पाँच खर्ब आयो, असोाजमा मात्रै २ खर्ब १ अर्ब

असोज महिनामा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स

काठमाडौं । २०८२ असोज महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स आएको छ । दशैं, तिहार, छठ लगायतका चाडपर्व लक्षित गरेर विदेशमा रहेका नेपालीहरुले रकम पठाउँदा एक महिनामै २ खर्ब बढी रेमिट्यान्स आएको हो ।

२०८२ असोज महिनाको मात्रै रेमिट्यान्स २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रहेको थियो  नेपालमा भित्रिएको रेमिट्यान्स एकै महिनमा अहिलेसम्मकै धेरै हो ।

यसअघि एकै महिनामा उच्च रेमिट्यान्स गएको असारमा १ खर्ब ८९ अर्ब रुपैयाँ भित्रिएको थियो। गएको महिना भदौमा भने १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। 

चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ३ महिनामा साढे ५ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चाल् आवको साउनदेखि असोज मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाह ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । 

यस्तो रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ३५.४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेको थियो । 

चालु आवेको पहिलो तीन महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो ।

यो अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ६१० अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४४३ अर्ब ७६ करोड रहेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत था व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख २३ हजार ४५९ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ७७ हजार २५७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख १० हजार ६५४ र ५९ हजार ९३९ रहेको थियो ।

अर्थतन्त्रको आकारको तुलनामा उच्च रेमिट्यान्स भित्र्याउने संसारका मुलुकमा शीर्ष १० मा नेपाल पर्दै आएको छ। अर्थतन्त्रको आकारको तुलनामा रेमिट्यान्स आउने क्रम फेरि बढेर विगतको उच्च बिन्दु पार गरेको छ।