शीर्षकहरू

विदेशी पर्यटकले नेपालमा भन्दा नेपालीले विदेशमा गर्छन् धेरै खर्च

विदेशी पर्यटकले नेपालमा भन्दा नेपालीले विदेशमा गर्छन् धेरै खर्च

काठमाडौं । नेपालमा आउने विदेशी पर्यटकले यहाँ जति खर्च गर्छन्, त्यस भन्दा धेरै नेपालीहरूले विदेशमा खर्च गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार पर्यटक बनेर विदेश पुगेका नेपालीहरूले नेपाल भित्रिने पर्यटकको भन्दा धेरै खर्च गरेका छन् । 

चालु आर्थिक वर्ष २०८२/८३ को ३ महिनामा विदेशी पर्यटकले नेपालमा १९ अर्ब १९ करोड रुपैयाँ खर्च गरेको छन् । जबकी सोही अवधिमा पर्यटक बनेर विदेश पुगेका नेपालीले विदेशमा २१ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेका छन् ।

तर, नेपालीले विदेशमा गर्न खर्च भने गत आवको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष २३ अर्ब २७ करोड रुपैयाँ खर्च गरेका थिए । यता, विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भने वृद्धि भएको देखिन्छ । गत वर्षको सोही अवधिमा उनीहरुले १७ अर्ब ७४ करोड खर्चेका थिए । जुन ८.१ प्रतिशत बढी हो । 

यस अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोडले घाटामा रहेको छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब १ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेको थियो । भ्रमण व्ययमा शिक्षा तर्फको व्यय र नेपालबाट घुम्न गएकाहरूको व्यय गणना गरिन्छ ।