शीर्षकहरू

त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

त्रिवि क्रिकेट मैदानको प्यारापिट र फ्लड लाइट क्यानलाई हस्तान्तरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माण गरिएको प्यारापिट र ‘फ्लड लाइट’ नेपाल क्रिकेट सङ्घ (क्यान)लाई हस्तान्तरण गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत् ती संरचना क्यानलाई हस्तान्तरण गरेको हो । सहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले आज साँझ ‘फ्लड लाइट’को ‘स्विच’ थिचेर क्यानलाई हस्तान्तरण गरेका हुन। 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री घिसिङले त्रिवि क्रिकेट रङ्गशाला नेपालमा चाँडोभन्दा चाँडोे सम्पन्न भएको योजना हुन पुगेको बताए । उनले सरकारबाट दोस्रो चरणको स्तरोन्नतिका लागि रु १० अर्बको गुरुयोजना र ठेक्का प्रक्रियाका लागि स्वीकृति दिइसकेको जानकारी दिए। 

“सबै पूर्वाधार सम्पन्न क्रिकेट मैदान बनाउने सपना पूरा हँुदै छ, नेपाली क्रिकेटको बढ्दो अन्तरराष्ट्रियस्तरअनुरुप सरकारले आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने छ,” मन्त्री घिसिङले भने । नेपालमा क्रिकेट एउटा खेल मात्र नभई राष्ट्रिय एकता र आर्थिक समृद्धिको माध्यमसमेत भएको उनको भनाइ थियो । 

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि रङ्गशालामा नेपाली क्रिकेटप्रेमीको नेपालमा नै अन्तरराष्ट्रिय क्रिकेट हेर्ने सपना पूरा हुने कामको सुरुआत भएको बताए । उनले क्रिकेट सङ्घले तोकेका प्राथमिकताअनुसार क्रिकेट मैदान बनाउन राजनीतिक नेतृत्वसँग आग्रह गरे । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेलप्रेमी नेपालीको सपना पूरा भएको बताउँदै अब दोस्रो चरणका संरचना निर्माण गर्न उत्तिकै प्राथमिकता दिन सरकारलाई आग्रह गरे । देशका अन्य भागमा पनि एनपिएल जस्ता खेल आयोजना गर्न सक्ने संरचना बनाउनुपर्ने उनको भनाइ थियो । 

कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डङ्गोलले कीर्तिपुरको आँगनमा अन्तरराष्ट्रिय खेल हुनु समग्र कीर्तिपुरवासीकै गौरवको विषय भएको बताए । “कीर्तिपुरको नाम अन्तरराष्ट्रिय स्तरमा प्रख्यात हुने अवसर आएको छ”, उनले भने ।