शीर्षकहरू

उत्कृष्ट करदातामा राजबहादुर शाह र नेपाल दूरसञ्चार प्राधिकरण

उत्कृष्ट करदातामा राजबहादुर शाह र नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिर्ने करदातालाई आन्तरिक राजस्व विभागले सोमबार सम्मान गरेको छ। राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले संस्थागततर्फ नेपाल दूरसञ्चार प्राधिकरण र व्यक्तिगततर्फ राजबहादुर शाहलाई सर्वोच्च करदाताका रूपमा सम्मान गरे।

विभागका अनुसार एकलौटी फर्मको वर्गीकरणमा ‘थर्ड आइ इन्टरनेशनल’ र वस्तु निर्याततर्फ ‘डाबर नेपाल’ सम्मानित भए। सूचना प्रविधि सेवा निर्यातमा ‘भेरिक्स नेपाल’, कृषि तथा पशुपक्षीजन्य उद्योगतर्फ ‘पोषक ब्रिडर फार्म’ र बैंक तथा वित्तीय संस्थातर्फ ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक’ लाई उत्कृष्ट करदाताको सूचीमा राखिएको छ।

स्वास्थ्य तथा शैक्षिक क्षेत्रमध्ये ‘नोवेल मेडिकल कलेज टिचिङ अस्पताल’, पर्यटन व्यवसायतर्फ ‘सोल्टी होटल लिमिटेड’ र वस्तु व्यापारमा ‘भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्टल स्टोर’ लाई पनि विभागले सम्मान प्रदान गरेको छ।

५० करोडदेखि १ अर्ब रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये ‘सीडीएस एन्ड क्लियरिङ लिमिटेड’, ऊर्जामूलक उद्योगतर्फ ‘भोटेकोशी पावर कम्पनी’ र रेमिटेन्स तथा मनी ट्रान्सफर कारोबार गर्ने ‘आईएमई लिमिटेड’ सम्मानित भए।

२०७६ साउनदेखि २०८२ असारसम्म मुल्य अभिवृद्धि कर विवरण नियमित रूपमा दाखिला गर्ने करदाताका रूपमा ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेड’ लाई विभागले अलग श्रेणीमा सम्मान गरेको छ।

५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये आर्थिक वर्ष २०८०-८१ मा सबैभन्दा बढी आयकर तिर्ने ‘भीएफ सर्भिसेज (मौरिसस)’ र विशेष उद्योग समूहमा उत्कृष्ट करदाताका रूपमा ‘यूनिलिभर नेपाल लिमिटेड’ लाई सम्मानित गरिएको विभागले जनाएको छ।