काठमाडौं। चालु आर्थिक वर्षको चार महिनामा सरकारले एक आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको ४ महिना अर्थात् कात्तिक मसान्तसम्म सरकारले ३ खर्ब ३३ अर्ब ३४ लाख आम्दानी गर्दा ४ खर्ब ६८ अर्ब ८८ करोड खर्च गरेको हो ।
चालु आवमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य तय गरेकोमा समीक्षा अवधिसम्म जम्मा लक्ष्यको २१.७२ प्रतिशत मात्रै आम्दानी गरेको हो । जसमध्ये सो अवधिसम्म सरकारले लक्ष्यको २३.१५ प्रतिशत कर आम्दानी, १२.७३ प्रतिशत गैरकर आम्दानी र ६.५३ प्रतिशत अनुदान आम्दानी गरेको महालेखाले जनाएको छ ।
सरकारले चालु आवमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर आय, १ खर्ब ५४ अर्ब, ४१ करोड ६१ लाख गैर कर आय र ५३ अर्ब ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान आय गर्ने लक्ष्य राखेको थियो ।
त्यस्तै, समीक्षा अवधिमा सरकार चालु र वित्तीय व्यवस्थापन तर्फको खर्चको तुलनामा पुँजीगत खर्चमा निकै कमजोर देखिएको छ । समीक्षा अवधिमा सरकारले ३ खर्ब २० अर्ब ९९ करोड २२ लाख रुपैयाँ सञ्चालन खर्च र १ खर्ब २२ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ वित्तीय व्यवस्थापन खर्च गरेको छ।
सरकारले समीक्षा अवधिमा चालु खर्च र वित्तीय व्यवस्थापन खर्च वार्षिक लक्ष्यको क्रमशः २७.१८ र ३२.६७ प्रतिशत खर्च गरेको हो । तर, सरकारले समीक्षा अवधिमा पुँजीगत खर्च भने लक्ष्यको ६.२१ प्रतिशत मात्रै खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
चालु आवमा सरकारले ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म जम्मा २५ अर्ब ३१ करोड ३४ लाख रुपैयाँ मात्रै खर्च गरेको हो ।
सरकारले चार महिनामा सवा तीन खर्ब रुपैयाँ राजस्व उठाएको छ । अर्थ मन्त्रालयका अनुसार साउन–कात्तिकसम्म ४ खर्ब २५ अर्ब २३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।
सरकारले चालु आर्थिक वर्ष १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । साउन–कात्तिकसम्म ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजस्व उठेको हो ।
सरकारले कात्तिक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो । तर कात्तिकमा ७८ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठाएको हो । कात्तिक ३० गते मात्रै ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व उठाएको सरकारले जनाएको छ ।
आर्थिकन्यूज