शीर्षकहरू

ओमानसँग शून्य-लागत श्रम सम्झौता अन्तिम चरणमा, नेपाल कूटनीतिक रूपमा सक्रिय

ओमानसँग शून्य-लागत श्रम सम्झौता अन्तिम चरणमा, नेपाल कूटनीतिक रूपमा सक्रिय

काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल–ओमान श्रम सम्झौता अन्तिम चरणमा पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौताको मस्यौदा स्वीकृतीको लागि मन्त्रिपरिषदमा पठाएको छ । 

मन्त्रालयका सह सचिव एबम् प्रवक्ता पिताम्बर घिमिरेका अनुसार मन्त्रालयले श्रम सम्झौताको मस्यौदा ओमान सरकारलाई पठाएको थियो । मन्त्रालयले पठाएको मस्यौदामा ओमान सरकारले अनुमोदन गरेको छ । ‘ओमान सरकारले हामीले पठाएको मस्यौदालाई अनुमोदन गरेको छ । अब मन्त्रिपरिषद्को बैठकले मस्यौदालाई स्वीकृती दिएपछि हामी फेरी ओमान सरकारलाई औपचारिक रुपमा हस्ताक्षरको गरी श्रम सम्झौता गर्न सूचना पठाउने छौ,’ उनले भने । ओमान सरकारले हस्ताक्षरको लागि मिति तोक्नेछ । सोही बमोजिम दुवै मुलुक बीच श्रम सम्झौता गर्ने तयारी गर्दैछौ । 

नेपाल र ओमानबीच ५० वर्षभन्दा पुरानो कूटनीतिक सम्बन्ध छ । सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भए पनि श्रम सम्झौताका विषयमा पटक–पटक प्रस्ताव आदान–प्रदान भएर पनि सहमति हुन सकेको थिएन । 

२२ वैशाख २०७६ मा तयार गरिएको प्रारम्भिक मस्यौदामा शून्य–लागतमा नेपाली श्रमिक पठाउने सहमति भए पनि ओमानले बीचमै श्रम कानुन परिवर्तन गरेपछि सम्झौता अड्किएको थियो । त्यसपछि नेपालले श्रमिक हितका विभिन्न प्रावधान स्पष्ट पार्न माग गर्दै नयाँ अडान राखेपछि दुबै देशबीच सहमति पुनः लम्बिएको थियो।

गत वर्ष ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदी नेपाल आएका बेला पनि श्रम सम्झौता टुंग्याउने अपेक्षा थियो । तर, नेपाली पक्षले मस्यौदामा थप संशोधन हुनुपर्ने अडान राखेपछि तत्काल हस्ताक्षर हुन नसकेको ओमानी पक्षले प्रतिक्रिया दिएको थियो ।

ओमानले पछिल्लो वर्षहरूमा श्रम कानुन संशोधन गर्दै पारिश्रमिक संरक्षण प्रणाली, सामाजिक सुरक्षा, अनिवार्य स्वास्थ्य बीमा, १ सय ८२ दिन बिदा, तलब नपाए रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था, श्रम विवादका क्रममा श्रमिकका खर्च रोजगारदाताले नै बेहोर्ने प्रबन्धजस्ता महत्वपूर्ण अधिकार सुनिश्चित गरेको छ । यी परिवर्तनपछि नेपालले श्रमिकको सुरक्षा सुनिश्चित हुने विश्वाससहित सम्झौता अघि बढाउन सकारात्मक रचनात्मक संवाद पुनः थालेको हो ।

हाल ओमानमा करिब २५ हजार नेपाली श्रमिक कार्यरत छन् । ओमान जाने नेपालीमध्ये अधिकांश घरेलु श्रमिकमा छन् । केही भने निर्माण क्षेत्रमा पनि गएका छन् । नेपाली दलालहरूले महिला श्रमिकलाई अवैध रुपमा ओमान पु¥याएर अन्यत्र पुराउने गरेका छन । यो सम्झौता  पछि यस्ता खालका गतिविधि कम हुने मन्त्रालयको बुझाई छ । नेपालले स्पष्ट रूपमा घरेलु कामदारका रूपमा वैधानिक रूपमा श्रमिक लैजान पाउने व्यवस्था, शून्य–लागत, २४ घण्टा बीमा, र श्रमिकका सबै खर्च रोजगारदाताले बेहोर्ने प्रावधान सम्झौतामा प्रस्ट्याउन माग गर्दै आएको छ ।

मस्यौदामा दुवै देशबीच सहमति भइसके पनि ठोस कानुनी आधार र दायित्व स्पष्ट गर्न समय लागेको नेपाली पक्षको तर्क छ । सम्झौतामा नेपालले गर्ने दायित्व, ओमान सरकारका जिम्मेवारी र रोजगारदाताका कर्तव्य विस्तृत रूपमा उल्लेख रहने श्रम मन्त्रालयले जनाएको छ । 

नेपाल सरकारले हालसम्म १२ वटा मुलुकसँग श्रम सम्झौता गरेको छ । नेपालले  सन् २०२२ मा बेलायत सरकारसँग श्रम सम्झौता गरेको हो । इजरायलसँग सन् २०२०, युएईसँग २००७/२०१९, मौरिसियससँग सन् २०१९, जापानसँग सन् २००९/२०१९, मलेसियासँग सन् २०१८, जोर्डनसँग सन् २०१७, बहराइनसँग सन् २००८, कोरियासँग सन् २००७ र कतारसँग २००५ मा श्रम सम्झौता गरेको हो । विश्वका १७८ मुलुकमा नेपालीहरु श्रममा पुगेका छन्  । श्रम सम्झौता नभएका मुलुकमा पुगेका नेपाली श्रमिकहरु ज्याला देखि विभिन्न सेवा सुविधामा ठगिँदै आएका छन् ।