काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व करिब पौने २७ खर्ब पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन अनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८२ असार मसान्तमा २६ खर्ब ७१ अर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ । २०८१ असार मसान्तको तुलनामा २९.२३ प्रतिशतले वृद्घि भएको हो ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा कायम कुल सम्पत्तिमा लगानी गोल्ड सर्टिफिकेट समेतको अंश ८८.९२ प्रतिशत, नगद तथा बैंक मौज्दात सम्पत्तिको अंश ७.३२ प्रतिशत र बाँकी अन्य सम्पत्तिको अंश ३.७६ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा उपर्युक्त सम्पत्तिहरूको अंश क्रमशः ८९.२३ प्रतिशत, ६.३७ प्रतिशत र ४.४१ प्रतिशत रहेको थियो।
केन्द्रीय बैंकले विभिन्न उपकरणमा गरेको लगानी २०८१ असार मसान्तको तुलनामा २८.७९ प्रतिशतले वृद्घि भई २०८२ असार मसान्तमा २३ खर्ब ७५ अर्ब २६ करोड २ लाख ९२ हजार पुगेको छ । २०८१ असार मसान्तमा उपरोक्त बमोजिमको लगानी १८ खर्ब ४४ अर्ब ३० करोड ३८ लाख ३५ हजार रहेको थियो।
बैंकको नगद तथा बैंक मौज्दात सम्पत्ति २०८१ असार मसान्तको तुलनामा ४८.५१ प्रतिशतले वृद्घि भई २०८२ असार मसान्तमा १ खर्ब ९५ अर्ब ५३ करोड १० लाख १० हजार पुगेको छ । २०८१ असार मसान्तमा नगद तथा नगद सरहका सम्पत्ति १ खर्ब ३१ अर्ब ६६ करोड ४५ लाख २२ हजार रहेको थियो।
२०८२ असार मसान्तको कुल दायित्व तथा इक्विटीमा दायित्वको अंश ७४.६९ प्रतिशत र इक्विटीको अंश २५.३१ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा उपर्युक्त दायित्व तथा इक्विटीहरूको अंश क्रमशः ७३.४५ प्रतिशत र २६.५५ प्रतिशत रहेको थियो।
२०८२ असार मसान्तमा कायम कुल दायित्वमा चलनचल्तीमा रहेको नोटको अंश ३७.६० प्रतिशत, बैंक तथा वित्तीय संस्थाहरूको स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप दायित्व (स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन समेत) को अंश ५२.७९ प्रतिशत, नेपाल सरकारको निक्षेप दायित्वको अंश ३.५५ प्रतिशत र बाँकी अन्य दायित्वको अंश ६.०७ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा उपर्युक्त दायित्वहरूको अंश क्रमशः ४४.७९ प्रतिशत, ४३.४१ प्रतिशत, ४.२१ प्रतिशत र ७.५९ प्रतिशत रहेको थियो।
२०८१ असार मसान्तको तुलनामा चलनचल्तीमा रहेको नोट १०.३० प्रतिशतले वृद्घि भई २०८२ असार मसान्तमा ७ खर्ब ५० अर्ब ११ करोड २४ लाख २२ हजार पुगेको छ । २०८१ असार मसान्तमा चलनचल्तीमा रहेको नोटको रकम ६ खर्ब ८० अर्ब ४ करोड ८८ लाख ३ हजार रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरूको यस बैंकमा स्वदेशी तथा विदेशी मुद्रामा रहेको निक्षेप (स्थायी निक्षेप सुविधा तथा निक्षेप संकलन समेत) २०८१ असार मसान्तको तुलनामा ५९.८१ प्रतिशतले वृद्घि भई २०८२ असार मसान्तमा १० खर्ब ५३ अर्ब १७ करोड ९१ लाख ४० हजार पुगेको छ । २०८१ असार मसान्तमा त्यस्तो निक्षेप दायित्व ६ खर्ब ५९ अर्ब ३ करोड ७१ लाख २४ हजार रहेको थियो।
यस बैंकमा रहेको नेपाल सरकारको निक्षेप २०८१ असार मसान्तको तुलनामा १०.७६ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा ७० अर्ब ८३ करोड ७० लाख ९९ हजार पुगेको छ । २०८१ असार मसान्तमा त्यस्तो निक्षेप दायित्व ६३ अर्ब ९५ करोड ३३ लाख ९१ हजार रहेको थियो।
२०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा कुल इक्विटीमा २३.१८ प्रतिशतले वृद्धि भएको छ । यस अन्तर्गत जगेडा कोष २३.३९ प्रतिशतले वृद्धि भई ६ खर्ब ७१ अर्ब ०२ करोड ६३ लाख २३ हजार रहेको छ। २०८१ असार मसान्तमा उक्त कोष ५ खर्ब ४३ अर्ब ८१ करोड ८१ लाख ३८ हजार रहेको थियो। २०८१ असार मसान्तमा यस बैंकको शेयर पुँजी ५ अर्ब रहेकोमा २०८२ असार मसान्तमा समेत सोही रकम कायम रहेको छ।
आर्थिक वर्ष २०८१-८२ को आय विवरण अनुसार नेपाल राष्ट्र बैंकको जम्मा खुद संचालन आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १०.२५ प्रतिशतलेवृद्धि भई ८८ अर्ब ४६ करोड ७४ लाख ८० हजार पुगेको छ । आर्थिक वर्ष २०८१-८२ को खुद संचालन आम्दानीमा खुद ब्याज आम्दानीको अंश ९८.६९ प्रतिशत, अन्य संचालन आम्दानीको अंश १.४१ प्रतिशत र विदेशी विनिमय खरिद बिक्रीबाट आम्दानी ०.१० प्रतिशत ऋणात्मक रहेको छ ।
समीक्षा वर्षमा खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १०.०८ प्रतिशतले वृद्धि भई ८७ अर्ब ३० करोड ९७ लाख ०८ हजार पुगेको छ । त्यसैगरी, अन्य आम्दानी १ अर्ब २४ करोड ६८ लाख २९ हजार भएको छ । विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी भने ८ करोड ९० लाख ५७ हजार ऋणात्मक रहेकोछ।
आर्थिक वर्ष २०८१-८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ-हानि समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा ९.११ प्रतिशतले वृद्धि भई ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ । यस्तो खुद आय आर्थिक वर्ष २०८०-८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रहेको थियो।
सञ्चालक समितिको मिति २०८२ कात्तिक २८ को बैठकबाट बैंकको खुद मूनाफामध्येविभिन्न कोषहरुमा छुट्ट्याउनु पर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
आर्थिकन्यूज