काठमाडौं । भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको नक्सालस्थित अन्तर्राष्ट्रिय चेन होटल हिल्टनको पुनर्बीमा दाबी भुक्तानीबाट नेपाल पुनर्बीमा कम्पनी पछि हटेको छ । होटलको बीमक कम्पनी द ओरिएण्टल इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच दंगा, हड्ताल, तोडफोड तथा आतंकवाद नोक्सानी (आरएसएमडीएसटी) बीमा सम्झौता नै नभएको भन्दै दाबी भुक्तानी गर्न नेपाल पुनर्बीमा कम्पनी पछि हटेको हो ।
नेपाल पुनर्बीमा कम्पनी स्रोतका अनुसार ओरिएण्टल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ मा शंकर ग्रुप अन्तर्गतका केही कम्पनीहरूको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा गरेको थियो । आव २०८२/८३ का लागि पनि ओरिएण्टलले पुनर्बीमाको लागि प्रस्ताव गरेको थियो ।
स्रोतका अनुसार ओरिएण्टलले आरएसएमडीएसटी बीमा सम्झौताका लागि इमेल गरेर प्रस्ताव पठाएको थियो । तर, पुनर्बीमा कम्पनीले ओरिएण्टलको प्रस्तावको प्रतिउत्तर पठाएको थिएन। यही बीच जेनजीको प्रदर्शनबाट हिल्टनमा ठूलो क्षति भयो ।
बीमा प्रस्तावको आधारमा नै ओरिएण्टलले नेपाल पुनर्बीमा कम्पनीसँग हिल्टनको आरएसएमडीएसटी बीमा बापतको रकम माग गरेको स्रोतले बतायो । प्रस्तावको प्रतिउत्तर नपठाइनुलाई प्रस्ताव स्वीकार गरेको मानिने भन्दै ओरिएण्टलले दाबी माग गरेको स्रोतले बतायो ।
ओरिएण्टल इन्स्योरेन्स कम्पनीले प्रस्तावको आधारमा नेपाल पुनर्बीमा कम्पनीसँग दाबी रकम माग गरे पनि नेपाल पुनर्बीमा कम्पनीले दाबी भुक्तानी दिन अस्वीकार गरेको छ ।
अख्तियार र प्राधिकरणमा पर्यो उजुरी
ओरिएण्टल इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीका उच्च व्यवस्थापनको मिलेमतोमा ब्याक डेट राखी हिल्टन होटलको आरएसएमडीएसटी बीमा सम्झौता गर्न लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल बीमा प्राधिकरणमा उजुरी परेको छ ।
जेनजी प्रदर्शन क्रममा हिल्टन होटलको धेरै क्षति भएको छ । त्यसैले पुनर्बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीकै व्यवस्थापनको मिलेमतोमा बीमा सम्झौता हुन लागेको भन्दै आयोग र प्राधिकरणमा उजुरी परेको हो ।
आयोगले प्राधिकरणलाई कार्तिक ११ गते पत्र पठाउँदै सो विषयमा जानकारी पठाउन भनेको छ । स्रोतका अनुसार अख्तियारको पत्रपछि प्राधिकरणले ओरिएण्टल र नेपाल पुनर्बीमा कम्पनीसँग सोधपुछ गरेको छ । प्रारम्भिक छानबिनमा हिल्टन होटलको आरएसएमडीएसटी बीमा सम्झौता नेपाल पुनर्बीमा कम्पनीमा नभएको पाइएको कम्पनी स्रोतले बतायो । ‘प्राप्त कागजपत्र अनुसार ओरिएण्टलले एलिएन्ट ब्रोकरमार्फत आरएसएमडीएसटी बीमा गरेको देखिन्छ,’ स्रोतले बतायो ।
कहाँ छ त हिल्टनको पुनर्बीमा?
ओरिएण्टलले कम्पनी स्रोतका अनुसार हिल्टन होटलको सबै आरएसएमडीएसटी बीमा सम्झौता हिमालयन पुनर्बीमा कम्पनीसँग भएको छ। कम्पनी स्रोतका अनुसार गत वर्ष होटलको आरएसएमडीएसटी बीमा सम्झौता हिमालयन पुनर्बीमा कम्पनीमा भएको थियो भने चालु आर्थिक वर्षका लागि पनि स्वतः रूपमा हिमालयन पुनर्बीमा कम्पनीमा भएको हुनुपर्ने कम्पनी स्रोतको दाबी छ ।
प्राधिकरणको नियम अनुसार भने आरएसएमडीएसटी बीमा नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्नेछ । ओरिएण्टलले नियम विपरीत हिमालयन रि बीमा गरेको ओरिएण्टल कम्पनी स्रोतले बतायो ।
माओवादी द्वन्द्वका समयमा हुलदंगाबाट नेपालमा धेरै भौतिक सम्पत्ति तोडफोड भयो । नेपालमा हुलदंगाको जोखिम बढ्दै गएपछि विदेशी पुनर्बीमा कम्पनीले यस्तो खालको जोखिमको पुनर्बीमा अस्वीकार गर्न थाले। सो समस्या समाधान गर्न नेपाल सरकार र बीमा कम्पनीको प्रयासमा आकस्मिक बीमा कोषको स्थापना भयो। यो कोषले २०६० सालदेखि यस्तो खालको जोखिमको रक्षावरण गर्दै आएको छ ।
२१ साउन २०७१ को मन्त्रिपरिषद्को बैठकले सोही कोषलाई नेपाल पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने निर्णय गर्यो । सोही निर्णय अनुसार २१ कार्तिक २१ गतेदेखि नेपाल पुनर्बीमा कम्पनीको दर्ता भयो ।
त्यतिबेलादेखि नै कम्पनीले आरएसएमडीएसटी बीमा पुल सञ्चालन गर्दै आएको छ । प्राधिकरणले आरएसएमडीएसटी बीमालाई अनिवार्य गरेको छ । प्रत्येक निर्जीवन बीमा कम्पनीले आरएसएमडीएसटी बीमा नेपाल पुनर्बीमा कम्पनीले सञ्चालन गर्दै आएको पुलमा नै बीमा गर्नुपर्ने प्रावधान राखेको छ । तर, ओरिएण्टलले प्राधिकरणले गरेको व्यवस्था विपरीत हिमालयन रि इन्स्योरेन्स कम्पनीमा आरएसएमडीएसटी बीमा गरेको कम्पनी स्रोतको दाबी छ ।
अन्डर इन्स्योरेन्स भएको थियो हिल्टन होटलको
होटल एशोसिएसन (हान) ले दिएको क्षतिको विवरण अनुसार हिल्टन होटलको अन्डर इन्स्योरेन्स भएको पाइएको छ । हानका अनुसार होटलमा ८ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । तर, होटलको जम्मा ५ अर्ब रुपैयाँको मात्रै बीमा भएको छ ।
सम्पत्तिको कुल बजार मूल्यभन्दा कम बीमांकमा बीमा भएको बीमालाई अन्डर इन्स्योरेन्स भएको मानिन्छ । हानको विवरण अनुसार हिल्टनले पनि बैंकको कर्जाको मात्रै बीमा गरेको देखिन्छ ।
अन्डर इन्स्योरेन्स कारण होटलले बीमा कम्पनीबाट पाउने भुक्तानी पनि कम हुनेछ । बीमा कम्पनीले बीमांक रकम र सम्पतिको बजार मूल्य बीच गणना गरी दाबी भुक्तानी गर्नेछ । अर्थात् बीमांक रकम ५ अर्ब सम्पतिको बजार मूल्य ८ अर्बको करिब ६२ प्रतिशत हुन आउँछ । बीमा कम्पनीले भुक्तानी गर्दा अधिकतम ५ अर्बको अधिकतम ६२ प्रतिशत मात्रै भुक्तानी गर्छ ।
होटलमा शतप्रतिशत क्षतिग्रस्त भएको अवस्था ६२ प्रतिशत दाबी भुक्तानी हुन्छ । तर, धेरैजसो अवस्थामा शतप्रतिशत क्षति भएको हुँदैन । अर्थात् होटलमा ७५ प्रतिशत क्षति भएको छ भने कम्पनीले ६२ प्रतिशतलाई शतप्रतिशत मानी त्यसको ७५ प्रतिशत मात्रै होटललाई भुक्तानी गर्नेछ । तर, दाबी भुक्तानीमा ६५ प्रतिशत पुनर्बीमा कम्पनी र ३५ प्रतिशत बीमा कम्पनीले भुक्तानी गर्नेछ ।
आरएसएमडीएसटी बीमामा १० करोड रुपैयाँसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बीमा कम्पनीले भुक्तानी गर्छ भने ३५ प्रतिशत बीमकले गर्नुपर्नेछ । १० करोड देखि ६ अर्ब रुपैयाँसम्मको दाबीमा भने शतप्रतिशत पुनर्बीमा कम्पनीले भुक्तानी गर्नेछ।
मुना कुँवर