शीर्षकहरू

पुनर्बीमा निर्णयमा शंकर समूहको प्रभाव : सिईओले ठूलो व्यवसाय हिमालयन रि तर्फ पठाए

पुनर्बीमा निर्णयमा शंकर समूहको प्रभाव : सिईओले ठूलो व्यवसाय हिमालयन रि तर्फ पठाए

काठमाडौं । शंकर समूहका कम्पनीहरुको पुनर्बीमा प्रक्रियामा अनियमितता भएको र सो प्रकरणमा नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेन्द्र थापा स्वयं संलग्न भएको पाइएको छ । सिईओ थापाले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई फाइदा हुनेगरी ओरिएण्टल इन्स्योरेन्समार्फत आएको शंकर समूहको पुनर्बीमा सम्झौता अस्वीकार गरेको पाइएको छ । 

आर्थिकन्यूजलाई प्राप्त पत्र अनुसार थापाले ओरियण्टलले प्रस्ताव गरेको पुनर्बीमामध्ये कुल बीमांक रकमको ७५ करोड रुपैयाँसम्मको मात्रै दंगा, हड्ताल, तोडफोड तथा आतंकवादबाट हुन सक्ने नोक्सानी (आरएसएमडीएसटी) बीमा स्वीकृत गरेका छन् । पत्रमा थापाले अन्य बीमांक रकमका लागि फ्याकल्टेटिभ पुनर्बीमा प्रस्ताव पठाउन पनि निर्देशन दिएका छन् । 

थापा १३ जेठ २०८१ मा नेपाल पुनर्बीमा कम्पनीको सिईओ नियुक्त भएका हुन्, र त्यसपछि केही समयमै यो पुनर्बीमा स्वीकृति पत्र पठाइएको देखिन्छ। पत्र अनुसार यो पुनर्बीमा सम्झौता आर्थिक वर्ष २०८१/८२ को लागि थियो । 

स्रोतका अनुसार ओरियण्टलले शंकर समूहको १६ वटा कम्पनीको आरएसएमडीएसटी लगायत अन्य पुनर्बीमा लागि प्रस्ताव पठाएको थियो । तर, सिईओ थापाले अन्य पुनर्बीमा प्रस्ताव अस्वीकार गरी आरएसएमडीएसटी पुनर्बीमा मात्रै ७५ करोड रुपैयाँसम्म स्वीकार गरेका छन्  । यो ७५ करोड रुपैयाँ एउटै बीमा पोलिसीको बीमांक रकम भने होइन, शंकर समूहका १६ वटा छुट्टाछुट्टै बीमा खाता (कम्पनी) को कुल बीमांक रकम हो । अर्थात्, ७५ करोड पाउन १६ वटै सम्पत्ति पूर्णरूपमा नष्ट भएको हुनुपर्छ । यदि कुनै एक कम्पनीलाई मात्र क्षति भयो भने, त्यसको पोलिसीमा उल्लेखित बीमांक अनुसार मात्र भुक्तानी उपलब्ध हुन्छ ।

प्राधिकरणले गरेको व्यवस्था अनुसार आरएसएमडीएसटी बीमा पनि कुल बीमांक रकम बराबरको नै हुनुपर्नेछ । शंकर समूहका १६ वटा कम्पनीको बीमांक रकम ७५ करोड मात्रै नहुने स्रोतको दाबी छ । सिईओ थापाले नियतवश नै थोरै मात्रै बीमांकको पुनर्बीमा गरेका छन् । 

स्रोतका अनुसार नेपाल बीमा प्राधिकरणले यो पत्रबारे सिईओ थापासँग सोधपुछ पनि गरेको थियो । ठूलो पुनर्बीमा प्रस्ताव अस्वीकार भएपछि स्वभाविक रुपमा व्यवसाय हिमालयन रि इन्स्योरेन्सतर्फ मोडिएको स्रोतको दाबी छ । ‘यो एउटा योजना हो । नेपाल पुनर्बीमा कम्पनीले अस्वीकार गरेपछि स्वत हिमालयन रि इन्स्योरेन्सलाई बीमा जानेछ । आरएसएमडीएसटीको पनि ७५ करोड रुपैयाँको मात्रै पुनर्बीमा गरिने थापाको नियत स्पष्ट हुन्छ,’ स्रोतले भन्यो । 

हिल्टन होटलको क्षतिपछि पत्र बाहिरियो

भदौमा ‘जेनजी’ प्रदर्शनका क्रममा शंकर समूहकै लगानी रहेको हिल्टन होटलमा क्षति पुगेको थियो । हिल्टन होटल ओरिएण्टल इन्स्योरेन्समा बीमित भएकाले कम्पनीले पुनर्बीमाका लागि नेपाल पुनर्बीमा कम्पनीमा दाबी दर्ता गराएको थियो ।

तर नेपाल पुनर्बीमा कम्पनीले भने अघिल्लो वर्षदेखि नै ओरिएण्टलले हिल्टनको आरएसएमडीएसटीको पुनर्बीमा नगराएको दाबी गर्दै आएको छ । ओरिएण्टलले प्रस्ताव पठाए पनि आफूले प्रतिउत्तर नपठाएकोले बीमा दायित्व नबन्ने स्पष्टीकरण दिएको छ ।

ओरिएण्टल इन्स्योरेन्सले भने “प्रतिउत्तर नआएको अवस्थामा पुरानै सम्झौताअनुसार पुनर्बीमा भएको मानिन्छ” भन्ने तर्क गरेको छ । त्यसपछि मात्रै गत वर्षका लागि स्वीकृति भएको पत्रको खोजी भएको हो । 

नेपाल पुनर्बीमा कम्पनी भित्रका स्रोतहरूका अनुसार अघिल्लो वर्ष सिईओ थापाले गोप्य रूपमा ओरिएण्टलको यो पुनर्बीमा स्वीकृत गरेका थिए, जसको बारेमा कर्मचारीहरूलाई समेत जानकारी थिएन । 

यो पत्र बाहिरिएसँगै कम्पनीका सिईओ, शंकर समूह र ओरिएण्टलबीच पुनर्बीमा सम्झौतामा मिलेमत्तो भएको खुलेको स्रोतको दाबी छ । स्रोतका अनुसार नेपाल पुनर्बीमा कम्पनी हडप्न शंकर समूहका उपाध्यक्ष सुभल अग्रवालले नै थापालाई नेपाल पुनर्बीमा कम्पनी सिईओ नियुक्त गरेका हुन् । अग्रवालको तर्फबाट व्यवसायी दिपक भट्टले थापालाई सिईओ नियुक्त गर्ने वातावरण मिलाएका थिए । 

अग्रवालकै योजना बमोजिम थापाले ठूलो बीमा प्रस्ताव गरी हिमालयन रिमा जाने वातावरण बनाईदिएका थिए । 

null

बीमा कम्पनीमा शंकर समूहको दबदबा

शंकर समूहको लगानीमा रहेको हिल्टन होटलको पुनर्बीमा ओरिएण्टल इन्स्योरेन्स हुँदै समूहकै ठूलो लगानी रहेको हिमालयन रि इन्स्योरेन्समा गरिएको छ। ओरिएण्टलले हिल्टनको दंगा, हड्ताल, तोडफोड तथा आतंकवाद नोक्सानी (आरएसएमडीएसटी) बीमा पुनर्बीमा ब्रोकर एलियन्ट मार्फत हिमालयन रिमा गराएको कम्पनी स्रोतको दाबी छ ।

हिमालयन रिमा शंकर समूह अन्तर्गतका कम्पनीहरूको शेयर हिस्सा उच्च छ । समूहका उपाध्यक्ष सुलभ अग्रवालका व्यवसायिक साझेदार दीपक भट्टको लगानी रहेको कम्पनीको पनि हिमालयन रिमा लगानी छ ।

कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण अनुसार, हाल हिमालयन रिमा जगदम्बा मोटर्सको ३.२० प्रतिशत शेयर छ, जुन अघिल्लो वर्ष ४.५७ प्रतिशत थियो। जगदम्बा स्टिल्सको २.२० प्रतिशत शेयर छ, अघिल्लो वर्ष ६.४० प्रतिशत थियो । समूहकै सौर्या सिमेन्टको नाममा १ प्रतिशत शेयर हिस्सा छ, जबकि अघिल्लो वर्ष १.४३ प्रतिशत थियो । दीपक भट्टको लगानी रहेको इन्फिनिटी होल्डिङ्गको ४.५० प्रतिशत शेयर हिस्सा छ, अघिल्लो वर्ष ६.४३ प्रतिशत थियो । यस कम्पनीमा नाम भट्टको भए पनि वास्तविक लगानी अग्रवालकै भएको स्रोतको दाबी छ ।

हिल्टन होटलमा सबैभन्दा धेरै लगानी शंकर समूहकै भएकाले, समूहले योजनाबद्ध रूपमा पुनर्बीमा ब्रोकर एलियन्टमार्फत हिमालयन रिमा पुनर्बीमा गरेको देखिन्छ । एलियन्ट ब्रोकरमा पनि अग्रवालका साझेदार भट्टकै लगानी रहेको बताइन्छ ।

स्रोतका अनुसार, शंकर समूहले हिल्टन मात्र होइन, आफ्ना अन्य लगानी भएका कम्पनीहरूको पुनर्बीमा पनि एलियन्ट हुँदै हिमालयन रिमै गरेको छ ।

शंकर समूहका उपाध्यक्ष अग्रवालले हिमालयन रिमा पुनर्बीमा गराउने शर्तमा ओरिएण्टल इन्स्योरेन्सलाई बीमा व्यवसाय दिइने गरेको बीमकहरू बताउँछन् । एक बीमकका अनुसार, “शंकर समूहको अधिकांश बीमा ओरिएण्टलबाट नै भएको छ। एक–दुईवटा मात्रै अरू कम्पनीमा छ । अग्रवालले हिमालयन रिमा पुनर्बीमा गर्ने शर्तमा मात्रै बीमा दिने गरेका छन् ।”

नेपालमा माओवादी द्वन्द्वका समयमा हुलदंगाबाट धेरै भौतिक सम्पत्ति क्षति भएपछि विदेशी पुनर्बीमा कम्पनीहरूले यस्तो जोखिम लिन अस्वीकार गरे । त्यसपछि नेपाल सरकार र बीमा कम्पनीहरूको संयुक्त प्रयासमा आकस्मिक बीमा कोष स्थापना गरिएको हो, जसले विशेष गरी यस्ता हुलदंगाबाट हुने जोखिमको रक्षावरण गर्दै आएको छ।पछि यही कोष नेपाल पुनर्बीमा कम्पनीमा समाहित भयो। त्यसबेलादेखि नेपाल पुनर्बीमा कम्पनीले हुलदंगाको लागि बीमा पुल सञ्चालन गर्दै आएको छ। नेपाल बीमा प्राधिकरणले हुलदंगा जोखिम बीमा अनिवार्य पनि बनाएको छ। बीमा कम्पनीले बीमांक बराबरको हुलदंगा जोखिम बीमा गर्नैपर्छ ।

तर केही बीमकहरूले भने नेपालमा यस्ता जोखिम नहुने भन्दै पुनर्बीमा गर्न आनाकानी गर्दै आएका छन्। बीमा कम्पनीले बीमकबाट हुलदंगा जोखिमको प्रिमियम लिए पनि नेपाल पुनर्बीमा कम्पनीसँग पुनर्बीमा नगर्ने गरेको दाबी कम्पनी स्रोतले गरेको छ ।

स्रोतका अनुसार, शंकर समूहले पनि हुलदंगा जोखिम नहुने विश्वासका साथ हिमालयन रिमा हुलदंगा जोखिमको पुनर्बीमा गरेको हो। स्रोतले भन्यो, “भदौमा भएको ‘जेनजी’ प्रदर्शनको जोखिम बीमा कम्पनीहरूले आकलनै गरेका थिएनन्। त्यसैले नेपाल पुनर्बीमा कम्पनीलाई प्रिमियम बुझाई रहनु पर्दा केहीलाई असन्तोष थियो। दाबी नपर्ने विश्वाससाथ नै हुलदंगा जोखिमको बीमा हिमालयन रिमा गरिएको हो ।”

null