शीर्षकहरू

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम सुरक्षित रहेको दाबी, फिर्ता प्रक्रिया जारी

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम सुरक्षित रहेको दाबी, फिर्ता प्रक्रिया जारी

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम सुरक्षित रहेको र हिनामिना नभएको स्पष्ट पारेको छ। समितिले केही दिनयता सहकारीपीडितको आन्दोलन र प्रश्न उठाइरहेका आलोचनाको जवाफमा बिहीबार विज्ञप्ति जारी गर्दै कानुनअनुसार रकम फिर्ता गर्ने प्रक्रिया अगाडि बढेको जनाएको छ।

विज्ञप्तिमा उल्लेख छ कि बचत फिर्ता कार्यमा कुनै अन्य उद्देश्यका लागि रकम प्रयोग गरिएको छैन। मिलान शुल्कको १० प्रतिशत रकम सम्बन्धित सहकारीको खातामा दाखिला हुने र उक्त रकम स्वतः बचतकर्ताले नै जम्मा गर्ने व्यवस्था रहेको समितिको दाबी छ।

समितिले यस अवधिमा बचत फिर्ता र मिलानमार्फत करिब ८३ करोड ६५ लाख रुपैयाँ फिर्ता गरिएको जानकारी दिएको छ। आर्थिक वर्ष २०८१/८२ सम्ममा ३ हजार ६ सय ८९ जना मागदाबीकर्ताको रकम पूर्णरूपमा फिर्ता भएको छ भने ५६ हजार १ सय ६ जना बचतकर्ताका ३५ करोड रुपैयाँ आंशिक फिर्ता भइसकेको छ।

कार्यालयले बैंकमार्फत नगद वितरण गरी ३ अर्ब २९ करोड रुपैयाँ भन्दा बढी रकम मिलान गरिएको जनाएको छ। यससँगै, समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक र लेखा समितिका सम्पूर्ण सदस्यको चलअचल सम्पत्ति रोक्का गरिएको छ। बाँकी ११ हजार ऋणीको बैंक खाता र सम्पत्तिमा पनि रोक्का जारी छ।

समितिले आम बचतकर्तालाई अनावश्यक हल्ला र भ्रममा नपर्न आग्रह गर्दै, रकम सुरक्षित राख्दै फिर्ता प्रक्रिया निरन्तर चलिरहेको जानकारी दिएको छ।