शीर्षकहरू

करिब ३८ अर्ब पुग्यो बीमा कम्पनीहरुको नगद मौज्दात

करिब ३८ अर्ब पुग्यो बीमा कम्पनीहरुको नगद मौज्दात

काठमाडौं । बीमा कम्पनीहरुको बैंक तथा नगद मौज्दात बढेर ३७ अर्ब ७७ करोड १० लाख रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को बार्षिक वित्तीय विवरण अनुसार गत वर्ष बीमा कम्पनीहरुको नगद मौज्दात ६४.९ प्रतिशतले वृद्धि भएको हो । 

तथ्यांक अनुसार आव २०८०/८१ मा बीमा कम्पनीहरुको नगद मौज्दात २२ अर्ब ९० करोड ५० लाख रुपैयाँ थियो । यो अघिल्लो आव २०७९/८० को तुलनामा १८० प्रतिशतले बढेको हो । सो आवमा बीमा कम्पनीहरुको नगद मौज्दात ८ अर्ब १५ करोड ९० लाख रुपैयाँ रहेको थियो । 

यस्तै, बीमा कम्पनीहरुको लगानी १३ प्रतिशतले वृद्धि भएको छ । आव २०८१/८२ मा कम्पनीहरुले नौ खर्ब ३४ अर्ब २९ करोड रुपैयाँ लगानी गरेका थिए । आव २०८०/८१ मा ८ खर्ब २५ अर्ब ५९ करोड रुपैयाँ थियो । आव २०७९/८० मा भने कम्पनीहरुको लगानी ६ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांक छ । 

बीमा कम्पनीहरुले लगानीको नेपाल बीमा प्राधिकरणले निश्चित क्षेत्र तोकि दिएको छ । सो क्षेत्रमा कम्पनीहरुले प्राधिकरणले तोकेको सीमामा भित्र रहेर लगानी गर्नुपर्नेछ । प्राधिकरणले जीवन, निर्जीवन, लघु र पुनर्बीमा कम्पनीका लागि फरक फरक क्षेत्र र सीमा तोकेको छ । 

स्थिर सम्पति १४ अर्ब ७४ करोड २० लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा भने २४ प्रतिशतले बढी हो । आव २०८०/८१ मा कम्पनीहरुको स्थिर सम्पति ११ अर्ब ८७ करोड रुपैयाँ थियो भने आव २०७९/८० मा ५ अर्ब ११ करोड रुपैयाँ थियो । 

कम्पनीहरुको अन्य सम्पति भने एक खर्ब ७ अर्ब १४ करोड रुपैयाँ छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो । 

कम्पनीहरुको जगेडा कोष ७८ अर्ब ५८ करोड ९० करोड रुपैयाँ छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५ प्रतिशत कम हो । 

कम्पनीहरुको अन्य दायित्व ९ खर्ब १५ अर्ब ९३ करोड रुपैयाँ छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । 

नेपालमा १४/१४ वटा जीवन र निर्जीवन बीमा कम्पनी छन् । दुई वटा पुनर्बीमा कम्पनी छ भने सात वटा लघुबीमा कम्पनी सञ्चालनमा छन् ।