काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले नक्सालस्थित हिल्टन होटलका लागि दंगा, हड्ताल, तोडफोड तथा आतंकवादबाट हुन सक्ने नोक्सानी (आरएसएमडीएसटी) बीमाको पुनर्बीमा हिमालयन पुनर्बीमा कम्पनीमा गरेको भए पनि दाबी भुक्तानी भने नेपाल पुनर्बीमा कम्पनीसँग माग गरेको छ ।
गत भदौमा जेनजी प्रदर्शनका क्रममा हिल्टन होटलमा तोडफोड र आगजनी हुँदा ठूलो क्षति भएको थियो। क्षतिपछि ओरिएन्टलले नेपाल पुनर्बीमा कम्पनीसँग दाबी भुक्तानी माग गरेको नेपाल पुनर्बीमा कम्पनी स्रोतले बतायो । स्रोतका अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र अध्यक्ष सुरेन्द्र पौडेल पनि दाबी भुक्तानी दिनुपर्ने विषयमा लबिङ गरिरहेको आरोप छ ।
स्रोतले जनाएअनुसार ओरिएन्टलले शंकर समूहअन्तर्गतका हिल्टन होटललगायतका अन्य सम्पत्तिको आरएसएमडीएसटी बीमा नेपाल पुनर्बीमा कम्पनीमा नगरेको दाबी छ । तर, प्राधिकरणको नियमअनुसार आरएसएमडीएसटी बीमा नेपाल पुनर्बीमा कम्पनीले सञ्चालन गर्ने आरएसएमडीएसटी पुलमार्फतै गर्नुपर्ने व्यवस्था छ । यदि ओरिएन्टलले बीमा नेपाल पुनर्बीमा कम्पनीमा नगरेको स्वीकार गर्यो भने कारबाहीको जोखिम रहने भएकाले पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै भएको दाबी गर्दै दाबी भुक्तानी पनि त्यहीँबाट माग गरिएको बताइएको छ ।
ओरिएन्टल कारबाहीमा पर्न सक्ने जोखिम देखिएकोले नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष र सिइओको मिलेमत्तोमा ब्याकडेटको पोलिसी काटिन सक्ने कर्मचारीहरूको आशंका छ । “ओरिएन्टलले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरेको छैन भन्यो भने कारबाही हुन्छ । अर्कातर्फ हिमालयन पुनर्बीमा कम्पनीले कानानुसार आरएसएमडीएसटी पुनर्बीमा लिन नपाउने भएकाले उ पनि जिम्मेवारीबाट हट्न सक्छ । अन्ततः हिल्टनको सबै दाबी ओरिएन्टलले नै भुक्तानी गर्नुपर्ने स्थिति आउन सक्छ,” स्रोतले भन्यो ।
ओरिएन्टल स्रोतका अनुसार हिल्टन होटलमा करिब तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। होटलमा करिब पाँच अर्ब रुपैयाँको बीमा गरिएको छ । कम्पनीले नेपाली तथा भारतीय सर्भेयर परिचालन गरी क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।
हिल्टन पुनर्बीमा दाबी भुक्तानीबारे आफूले कुनै दबाब नदिएको नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र पौडेलले स्पष्ट पारे। “कम्पनीको दैनिक कामकाजमा मैले हस्तक्षेप गर्दिन । कागजपत्रले हिल्टनको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमै भएको देखायो भने हामीले नै भुक्तानी गछौं । यदि हिमालयनमा भएको हो भने हिमालयनले नै दिनुपर्छ,” उनले भने । उनले अध्यक्षका रूपमा दाबी भुक्तानीमा कुनै दबाब नदिएको दाबी गरे ।
तर घटना भएको तीन महिना बितिसक्दा पनि हिल्टनको आरएसएमडीएसटी पुनर्बीमा वास्तवमै नेपाल पुनर्बीमा कम्पनीमा भएको हो÷हैन भन्ने विषयमा आफू अझै अनभिज्ञ रहेको उनले बताए । “यो विषय बुझ्दैछु। कागजले प्रमाणित गर्छ,” उनले भने ।
आरएसएमडीएसटी पुनर्बीमा हिमालयन पुनर्बीमा कम्पनीमा गरिएकै हो भने त्यो गैरकानुनी हुने प्राधिकरणका पूर्वअध्यक्ष प्रा. डा. फत्तबहादुर केसीले बताए । “नियमअनुसार नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्छ। नियम विपरीत अन्यत्र पुनर्बीमा गर्न पाइँदैन। यदि नियम विपरीत काम भएको छ भने कारबाही हुनुपर्छ,” उनले भने ।
ओरिएन्टलले पुनर्बीमा नगरी दाबी माग गरेको भन्दै प्राधिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पनि परेको छ । पुनर्बीमा कम्पनी र ओरिएन्टलका उच्च व्यवस्थापनको मिलेमत्तोमा ब्याकडेटको पोलिसी काटेर दाबी माग्न खोजिएको आरोपमा दुवै निकाय सतर्क भएका छन् ।
अख्तियारले पनि छानबिन गर्न प्राधिकरणलाई पत्र पठाएको छ । प्राधिकरणले ओरिएन्टल इन्स्योरेन्समा छानबिन सुरु गरिसकेको र पुनर्बीमा सम्बन्धी सबै फाइलहरु मागिसकेको कम्पनी स्रोतले जनायो । प्रारम्भिक छानबिनले पनि हिल्टनको आरएसएमडीएसटी पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नभएको देखिएको स्रोतले दाबी गर्यो ।
मुना कुँवर