शीर्षकहरू

नेपालमा नियो बैंक स्थापनामा कानुनी बाधा, संसद विघटनपछि योजना अलपत्र

नेपालमा नियो बैंक स्थापनामा कानुनी बाधा, संसद विघटनपछि योजना अलपत्र

काठमाडौं । चालु आर्थिक वर्षमा नै सरकारले स्थापना गर्ने भनेको नियो बैंक कानुन अभावमा अलपत्र परेको छ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यसै वर्ष भित्र नियो बैंक स्थापना गरिने बताएको थियो । तर, कानुन अभावमा नियो बैंक स्थापनाको प्रक्रिया रोकिएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.रामशरण खरेलले बताए । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ शंसोधन गरी नियो बैंक स्थापना गर्ने व्यवस्था गरेको थियो । शंसोधित ऐनको विद्येयकको दफा ४९ मा नियो बैंकको व्यवस्था गरिएको छ । ‘राष्ट्र बैंकले तोकेको सीमा, सर्त वा निर्देशनको अधिनमा रही डिजिटल बैंकले राष्ट्र बैंकले तोके बमोजिमको निक्षेप लिने, कर्जा प्रवाह गर्ने समेतका बैकिङ तथा वित्तीय कारोबार गर्न सक्नेछ,’ दफामा उल्लेख छ । 

विद्येयक प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा दफाबार छलफलमा थियो । यसैबीच जेनजी प्रदर्शन भयो । प्रदर्शन पछि संसद पनि भंग भयो । संसद भंग भएपछि विद्येयक पारित हुन सकेन । विद्येयक पारित नभएकै कारण नियो बैंकको स्थापनको योजना अलपत्र परेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.रामशरण खरेलले बताए । ‘अहिले मौजुदा कानुनमा नियो बैंकको व्यवस्था छैन । प्रतिनिधि सभामा प्रेश गरिएको विद्येयकमा नियो बैंकको व्यवस्था गरिएको छ । तर, विद्येयक पारित नभएका कारण बैंकको प्रक्रिया अगाडी बढाउन नसकिएको हो,’ उनले भने । 

डिजिटल बैकिङ सेवाको विस्तारका लागि सरकारले नियो बैंकलाई प्राथमिकतामा राखेको थियो । सरकारले आव २०७९/८० र २०८१/८२ को बजेटमा पनि पूर्ण डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको थियो ।

नियो बैंकका स्थापनाको विषयमा राष्ट्र बैंकले प्रारम्भिक अध्ययन गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.खरेलले बताए । ‘अहिले सञ्चालनमा रहेका बाणिज्य बैकहरुकै सहायक बैंकको रुपमा स्थापना गर्ने वा छुट्टै बैंकको लाइसेन्स दिने भन्ने विकल्पमा पनि छलफल भएको छ । छुट्टै बैंकको लाइसेन्स दिदा पुँजी कति तोक्ने भन्ने लगायतका विषयमा छलफलमा नै थियो,’ उनले भने । 

नेपालमा बैकिङ पहुँच विस्तार गर्न नियो बैंक सहयोगी हुने कार्यकारी निर्देशक डा.खरेलको दाबी छ । ‘अझै पनि दुर्गम क्षेत्रमा बैंकहरु पुगेका छैनन् । त्यस्ता क्षेत्रमा नियो बैंकले काम गर्न सक्छ,’ उनले भने । मानिस भौतिक रुपमा उपस्थित हुनु नपर्ने भएपछि बैकिङ कारोबार सहज, सरल र छिटो हुने उनको दाबी छ । अहिले सञ्चालनमा रहेको बैंकहरुले पनि डिजिटल बैकिङलाई प्राथमिकता दिएका छन् । दिनप्रतिदिन मोबाइल बैकिङ, वालेट, क्यूआरको प्रयोग बढ्दै गएको छ । 

नियो बैंक भनेको के हो ? 

नियो बैंक भन्नाले पूर्ण रूपमा डिजिटल माध्यमबाट सञ्चालन हुने बैंकलाई जनाउँछ, जसले कुनै पनि भौतिक शाखा बिना नै आफ्ना ग्राहकलाई सबै प्रकारका बैंकिङ सेवाहरू उपलब्ध गराउँछ । परम्परागत बैंकहरूको तुलनामा नियो बैंकहरू निकै सरल, छिटो र कम लागतमा सेवा दिन सक्षम हुन्छन् । ग्राहकले खाता खोल्ने, पैसा जम्मा वा झिक्ने, बिल तिर्ने, स्टेटमेन्ट हेर्ने, र कार्ड प्रयोगसँग सम्बन्धित धेरै कामहरू मोबाइल एप वा वेबसाइटमार्फत सजिलै गर्न सक्छन् । शाखा नहुँदा सञ्चालन खर्च कम हुने भएकाले नियो बैंकले सेवाशुल्क पनि कम हुन्छ । 

यसले आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता, डेटा विश्लेषण र स्वचालित प्रणालीहरूको प्रयोगमार्फत व्यक्तिगत तथा स्मार्ट बैंकिङ अनुभव प्रदान गर्छ । विशेषगरी युवापुस्तालाई लक्षित यस बैंकिङ मोडलले दैनिक वित्तीय कामलाई सहज, पारदर्शी र प्रयोगमैत्री बनाएको छ । यद्यपि सुरक्षा चुनौती, नियमन र विश्वास निर्माण जस्ता केही मुद्दाहरू पनि यससँग जोडिएका हुन्छन् । नेपालमा अझै पूर्ण रूपमा नियो बैंकहरू सञ्चालनमा नआए पनि धेरै बैंकहरूले डिजिटल–फस्ट सेवाहरू अपनाई नियो बैंकिङतर्फको बाटो तयार गर्दैछन् । भविष्यमा प्रविधिको विकाससँगै नेपालमा नियो प्रयोग प्रयोगमा आउने देखिन्छ । 

नियो बैंकको अन्तराष्ट्रिय अभ्यास 

नियो बैंकको अवधारणा हाल विश्वभर तीव्र गतिमा फैलिँदै गएको छ । अन्तर्राष्ट्रिय अभ्यासमा नियो बैंकहरूले परम्परागत बैंकिङ मोडेललाई चुनौती दिँदै नयाँ डिजिटल वित्तीय सेवाको मार्ग खोलिरहेका छन् । अमेरिकामा चाइम र भारो बैंक जस्ता नियो बैंकहरू अत्यन्त लोकप्रिय छन् भने युरोपमा रिभोल्युट, एन२६, मोन्जो र स्टार्लिङ बैंक प्रमुख रूपमा सफल भएका छन् । त्यसैगरी चीनको वेबैंक, दक्षिण कोरियाको काकाओबैंक तथा ब्राजिलको न्युबैंकले लाखौँ ग्राहकलाई केवल मोबाइल एपबाटै बैंकिङ सेवा प्रदान गरिरहेका छन् । यी नियो बैंकहरूले खुला बैंकिङ, एपिआई–आधारित सेवा, कृत्रिम बुद्धिमत्ता र डिजिटल भुक्तानी प्रणाली प्रयोग गरी व्यक्तिगत तथा नवप्रवर्तनयुक्त सुविधा उपलब्ध गराउँदै आएका छन् । विश्वका धेरै देशहरूमा नियो बैंक युवापुस्ता, अनलाइन कारोबार गर्नेहरू तथा साना व्यवसायीका लागि प्रमुख वित्तीय विकल्प बन्दै गएको छ । नेपालमा पूर्ण रूपमा नियो बैंक स्थापना नभए पनि डिजिटल सेवा विस्तार हुँदै गएकाले भविष्यमा यस्तो बैंकिङ प्रणाली सहजै विकास हुने बैकङहरु बताउँछन् ।