काठमाडौं। अध्ययन भिसामा नेपाल आएका केही विदेशी नागरिकहरूले भिसा प्रयोजन विपरीत गतिविधि गर्दै आएका पाइएको छ। यसका कारण अध्यागमन विभागले विदेशीसँग सम्बन्धित शैक्षिक संस्थाहरूमाथि निगरानी र अनुगमन बढाएको छ।
अध्यागमन विभागका अनुसार, केही विदेशी नागरिकहरूले कक्षा नियमित रूपमा उपस्थित नहुने, अध्ययन अवधि थप गर्न नक्कली कागजात पेश गर्ने, वा कोर्ष पूरा भइसकेपछि प्रमाणपत्र नदेखाउने जस्ता क्रियाकलाप गरेको पाइएको छ। कतिपय विदेशी नागरिकहरू गैरकानुनी गतिविधिमा समेत संलग्न भएको जानकारी प्राप्त भएपछि, विभागले सम्बन्धित व्यक्तिहरूको विवरण प्रहरी र स्थानीय निकायलाई उपलब्ध गराउन शैक्षिक संस्थाहरूसँग अनुरोध गरेको छ।
यसैबीच, अध्यागमन विभागले सबै शैक्षिक संस्थालाई चेतावनी दिँदै अध्ययन भिसाका लागि योग्य नभएका विदेशीहरूलाई सिफारिस नगर्न निर्देशन दिएको छ। साथै, विदेशी नागरिकहरूको गतिविधि नियमित अनुगमन गर्न ७७ वटै जिल्लामा अनुगमन समितिहरू सक्रिय गरिने बताइएको छ। विदेशी विद्यार्थी व्यवस्थापनमा प्रभावकारी निगरानी राख्न शिक्षा मन्त्रालयसँग समन्वय गरी कडाइ थप गर्ने तयारी भइरहेको छ।

आर्थिकन्यूज