शीर्षकहरू

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख सहयोग

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख सहयोग

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १ करोड ५० लाख सहयोग प्रदान गरेको छ।

मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, सञ्चालक कमलेश कुमार अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा चेक अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरे।

गत भदौ २३ र २४ गते देशभर चलेको जेनजी प्रदर्शन तथा आन्दोलनका कारण सार्वजनिक संरचनामा व्यापक क्षति पुगेको थियो। सोही क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यका लागि नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम उपलब्ध गराएको कम्पनीले जनाएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष संघईले नेपाल लाइफले दीर्घकालदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहायतामूलक कार्यक्रम सञ्चालन गर्दै आएको स्मरण गराए। हालैको आन्दोलनबाट सार्वजनिक संरचनामा ठूलो क्षति पुगेकाले पुनर्निर्माणमा योगदान गर्न पाउँदा कम्पनी खुसी भएको उनले बताए। आगामी दिनमा पनि यस्ता सामाजिक उद्देश्यमूलक गतिविधिमा सहयोग निरन्तर रहने विश्वास दिलाए।

अर्थमन्त्री खनालले नेपाल लाइफले दिएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै यसले देशको पूर्वाधार पुनर्निर्माणमा महत्वपूर्ण टेवा पुग्ने बताए। निजी क्षेत्रबाट प्राप्त यस्ता सहयोगले पुनर्निर्माण कार्यलाई गति मिल्ने उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्तो सहकार्यको निरन्तरता रहने अपेक्षा व्यक्त गरे।