शीर्षकहरू

चीनमा अध्ययनरत विद्यार्थी सुबोध पोखरेलको चीन यात्राको स्मृति र अनुभव यस्तो छ

चीनमा अध्ययनरत विद्यार्थी सुबोध पोखरेलको चीन यात्राको स्मृति र अनुभव यस्तो छ

एजेन्सी। चीनमा अध्ययनरत हजारौँ नेपालीमध्ये १० जना विद्यार्थीले यस वर्ष नोभेम्बरदेखि ‘मेमोरिज अफ चाइना’ भिडियो श्रृंखलामा सहभागी हुँदै चीनमा बिताएका क्षण, अनुभव र सम्झनाहरू सार्वजनिक गरिरहेका छन्। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा तयार गरिएको यो विशेष श्रृंखलामा उनीहरूले आफ्नो अध्ययन, जीवनशैली र सांस्कृतिक अनुभूति खुलेर व्यक्त गरेका छन्।

उनीहरूको कथा र अनुभव हाल सामाजिक सञ्जाल तथा अनलाइन मिडियामा प्रशारण भइरहेको छ। नेपाल र चीन हिमाल र पहाडले मात्र जोडिएका छिमेकी होइनन्, घनिष्ठ साझेदार पनि हुन्। अहिले हजारौँ नेपाली विद्यार्थी चीनका विविध विश्वविद्यालयमा अध्ययनरत छन्, जसले दुवै देशबीचको मित्रतामा महत्वपूर्ण सेतुको भूमिका खेलेका छन्।

यस परियोजनामा सहभागी १० विद्यार्थी चीनका प्रमुख विश्वविद्यालय चच्याङ विश्वविद्यालय, सांघाइ जियाओ थोङ विश्वविद्यालय, तोंग्जी विश्वविद्यालय, वुहान विश्वविद्यालय, सिआन जियाओ थोङ विश्वविद्यालय, युनिभर्सिटी अफ चाइनीज एकेडेमी अफ साइन्सेज र सिचुआन विश्वविद्यालयमा चिकित्सा, वास्तुकला, परमाणु भौतिकी, नागरिक इन्जिनियरिङ, कन्ट्रोल इन्जिनियरिङलगायतका विषय पढिरहेका छन्।

उनीहरूले आफ्नो ब्लग र भिडियोमार्फत चीनका शहर, संस्कृति र दैनिक अनुभव जीवन्त रूपमा प्रस्तुत गरेका छन्। छन्तुमा पाण्डा अवलोकन गर्दै शहरको फुर्सदिलो शैली अनुभूति गर्नु, ६३२ मिटर अग्लो सांघाइ टावरको विश्वकै छिटो लिफ्टबाट ‘पर्ल अफ द ओरियण्ट’ महानगरलाई हेर्नु, सिआनको टेराकोटा सेनासँग हजारौँ वर्ष पुरानो इतिहास नजिकबाट महसुस गर्नु, हाङ्जोउको पश्चिम तालमा डुंगा यात्रा गर्दै चीनका अमर प्रेमकथाहरू बुझ्नु, बेइजिङमा पेकिङ ओपेराको परम्परा र आधुनिकता एकसाथ अनुभव गर्नु, ग्वाङ्जाउ र वुहानका स्थानीय परिकार चाख्नु, तथा वुडाङ पर्वतमा पुगेर ताई चीको उद्गमस्थलको अनुभूति लिनु उनीहरूका प्रमुख स्मरणीय क्षण हुन्।

यी कथाहरूले चीनमा अध्ययनरत नेपाली युवाहरूले हासिल गरेको ज्ञान, सांस्कृतिक समझ र दुवै देशबीचको मानवीय सम्बन्धलाई थप नजिक ल्याउने काम गरेको स्पष्ट देखिन्छ।

विद्यार्थी सुबोध पोखरेलको चीन यात्राको स्मृति र अनुभव यस्तो छ 
अंग्रेजीमा उनी भन्छन्, ‘सबैलाई नमस्कार१ म सुबोध पोखरेल, नेपालबाट। आज म निकै उत्साहित छु, किनकि म फेरि चीनको विश्वविद्यालय फर्किएको छु। ग्वाङ्झौ फर्किएको छु। यहाँको मौसम अलि न्यानो भएकाले सहज छ। यहाँ फर्किँदै गर्दा पुराना यादहरू ताजा भए—नयाँ शिक्षकहरूसँगको भेट, चिनियाँ भाषा सिक्ने तयारी, नयाँ र पुराना दुवै साथीहरूसँग पुनर्मिलन।

म अब फेरि दक्षिण चीनको साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीमा फर्किएको छु । यो चीनकै सबैभन्दा सुन्दर विश्वविद्यालयमध्ये एक हो । म यहाँ स्नातकोत्तर तहको अध्ययन योजना बनाइरहेको छु । त्यसका लागि मलाई चिनियाँ भाषा कार्यक्रम पूरा गरी पाँचौ तहको परीक्षा पास गर्नुपर्छ । जसबाट ठूला विश्वविद्यालयहरूमा भर्ना पाउन सकिन्छ।

नेपालमा छँदा मैले धेरै टेबल टेनिस खेलेँ । चीन आएपछि यहाँका साथीहरूलाई खेल्दै देखेर फेरि सिक्न थालेँ। साथीहरूले धेरै सहयोग गरे—उनीहरू एकदमै मिलनसार छन्।

ग्वाङ्झौको सबैभन्दा उत्कृष्ट खाना भनेको क्यान्टोनीज परिकार हो।  बिहानको नास्ता त अवश्य नै खानै पर्छ १ चिया राखिदिने व्यक्तिलाई सम्मानजनक धन्यवाद दिन टेबल टकटक्याउने प्रचलन रहेछ—यो धन्यवाद भन्ने यहाँको सांस्कृतिक शैली हो ।

ब्रुस लीको सन्दर्भमा कुरा गर्दै उनले भने, ‘आज म ब्रुस लीको पूर्वजहरूको घरमा छु। ब्रुस लीबारे सबैलाई थाहा नै छ। घर आजसम्म राम्रोसँग संरक्षित राखेको पाएँ । उनका कैयौँ तस्बिरहरू प्रदर्शित छन् भने पर्यटकहरूको भीड देखेँ । हाइ—कति कठोर१ ब्रुस ली, मलाई सिकाइदेऊ न ? 

यता सुन्नुस् त कति अद्भुत संगीत ! यो पहिलोपटक यस्तो सुन्दर गुन्डुङसंगीत सुनेको हुँ—एकदमै रोचक लाग्यो । स्नातक गरेपछि मेरी आमा र दाइ ग्वाङ्झौ आउनुभयो । मैले उहाँहरूलाई धेरै स्थान घुमाएँ, स्वादिष्ट खाना खुवाएँ। उहाँहरू निकै खुशी र उत्साहित हुनुभयो ।

यो चाँही लिआङ छा-चिनियाँ हर्बल चिया हो । विशेषगरी ग्वाङतोङका मानिसहरू शरीर स्वस्थ राख्न नियमित पिउँछन्। चाख्ने क्रममा उनले भने कति तीतो ?

अन्ततः हामी ग्वाङ्झौको प्रतीक क्यान्टोन टावर पुग्यौँ, जसलाई सिआओमान्यो वा लिटिल वेष्ट पनि भनिन्छ। अहिले म टावरको सबैभन्दा माथिल्लो भागमा छु—यहाँबाट गगनचुम्बी भवनहरूको अद्भूत दृश्य देखिन्छ।

चीनमा अध्ययन गर्ने अवसर पाएकोमा म साँच्चै गौरवान्वित छु । भविष्यमा नेपालको विकासमा योगदान दिए पनि वा अन्यत्र काम गरे पनि चीनमा पाएको ज्ञान र अनुभव मेरो जीवनको अविस्मरणीय यात्रा हुनेछ।