काठमाडौं । सालपा विकास बैंक लिमिटेडले यहि मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
बैंकले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस १० गतेसम्म लम्बिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले बैंकलाई आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माढा गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
यस बैंकको बैंकको केन्द्रीय कार्यालय खोटाङमा रहको छ। खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि।सं। २०६९ साउन ३ गते खोटाङको दिक्तेल बजारमा स्थापना गरिएको सालपा विकास बैंकको कार्यक्षेत्र नै खोटाङ जिल्ला हो ।
संस्थापक सेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी दुई करोड लगानीमा स्थापना गरिएको बैंकको कुल चुक्ता पुँजी ३५ करोड पुगेपछि आईपीओ जारी गर्न लागेको हो । आईपीओ जारीपछि कुल चुक्ता पुँजी ५२ करोड २३ लाख पुग्नेछ ।
नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणीको अनुमति लिएर सञ्चालन गरिएको सालपा विकास बैंकले जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँगै विभिन्न स्थानीय तहको ६ ठाउँमा शाखा रहेका छन् । बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुके लगायतका १० वटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ ।
स्थापनाकालमा खोटाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएको बैंकको गत फागुन २० गते सम्पन्न ११औँ साधारणसभाले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको छ ।सो साधारणसभाले उदयपुर, सुनसरी, झापा र मोरङमा शाखा स्थापना गरेर कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको हो ।
आर्थिकन्यूज