शीर्षकहरू

अधिक तरलताको चाप कायमै, २८ दिनका लागि ६० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकहरुले लगानी गर्न नसकेको ८ खर्ब ६० अर्ब ४० करोड राष्ट्र बैंकमा

अधिक तरलताको चाप कायमै, २८ दिनका लागि ६० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं  । लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । अपेक्षा अनुसार कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर निरन्तर घटे पनि कर्जा प्रवाह सुस्त छ । यसैकारण तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले पटकपटक प्रणालीबाट पैसा तान्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी विस्तार गर्न नसक्दा नसक्दा वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ । अधिक तरलताको रकम व्यवस्थापनका लागि आज केन्द्रीय बैंकले थप ६० अर्ब खिच्ने भएको छ । विगत साढे दुई वर्षदेखि लगातार रुपमा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएर बसेको हो ।

पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । गत आइतबार मात्रै केन्द्रीय बैंकले प्रणालीबाट ३५ दिनका लागि ४० अर्ब रुपैयाँ खिचेको थियो।

नेपाल राष्ट्र बैंकले आज पुनः ६० अर्ब खिच्ने भएको छ । राष्ट्र बैंकले २८ दिनको लागि ६० अर्ब निक्षेप संकलन गर्न लागेको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने २०८२ पुस १६ गते साँवा तथा ब्याज भुक्तानी हुने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको छ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने उल्लेख छ ।

हालसम्म राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत खिचेको ४ खर्ब ५९ अर्ब ३० करोड केन्द्रीय बैंकमा जम्मा रहेको छ ।  त्यस्तै, स्थायी निक्षेप सुविधामा बैंकहरुले ४ खर्ब १ अर्ब १० करोड जम्मा गरेका छन् । बैंकहरुले लगानी गर्न नसकेको ८ खर्ब ६० अर्ब ४० करोड राष्ट्र बैंकमा जम्मा भएको छ । 

गत आर्थिक वर्षको मध्यतिरबाट बैंकमा बढेको अधिक तरलता अहिले नेपाली बैंकिङ क्षेत्रकै समस्याका बनिसकेको छ । बजारमा माग घट्दा र व्यवसायमा शिथिलता छाउँदा अपेक्षितरुपमा कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन । जसले गर्दा बैंकहरुमा रहेको अधिक तरलता व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले निकै सकश परेको छ ।