शीर्षकहरू

१३ प्रतिशतले बढ्यो निर्जीवन बीमाको व्यापार, लघु कम्पनीको वृद्धि उच्च

१३ प्रतिशतले बढ्यो निर्जीवन बीमाको व्यापार, लघु कम्पनीको वृद्धि उच्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चार महिनामा निर्जीवन बीमाको व्यापार करिब १३ प्रतिशतले वृद्धि भएको छ । चालु आवको साउन देखि कार्तिक मसान्तसम्मको भएको व्यापारलाई गत आवको सोही अवधिमा भएको व्यापारसँग तुलना गर्दा १२.९३ प्रतिशत वृद्धि देखिएको हो । 

जसमध्ये निर्जीवन ठूला कम्पनीहरुको व्यापार १२.४२ प्रतिशतले वृद्धि हुँदा लघु कम्पनीको व्यापार ४०.१८ प्रतिशतले बढेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार ठूला कम्पनीहरुमध्ये सबैभन्दा धेरै हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यापार ३९.६६ प्रतिशतले बढ्दा सानिमा जीआईसीको ३०.९३ र एनएलजीको ३४ प्रतिशतले वृद्धि देखिएको छ । हिमालयन एभरेष्टले गत वर्षको ४ महिनामा १ अर्ब १५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । यस वर्षको सोही अवधिमा १ अर्ब ६० करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

एनएलजीले गत वर्ष ९४ करोड १९ लाख र यस वर्ष १ अर्ब २६ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा सानिमा जीआईसीले गत वर्ष ७७ करोड ९३ लाख र यस वर्ष १ अर्ब २ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । 

यूनाइटेड अजोड इन्स्योरेन्सको व्यापार २७.८० प्रतिशतको वृद्धि देखिएको छ भने शिखर इन्स्योरेन्सको २३.२८, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२.२२ र नेपाल इन्स्योरेन्सको १० प्रतिशतको वृद्धि देखिएको छ । 

यस अवधिमा ३ कम्पनीको भने व्यापार घटेको छ । सरकारको स्वामित्व रहेको राष्ट्रिय जीवन बीमा कम्पनी, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनी र नेको इन्स्योरेन्स कम्पनीको व्यापार घटेको हो । 

पछिल्लो ४ महिनामा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स पहिलो नम्बरमा रहेको छ । यस कम्पनीले १ अर्ब ७८ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दा शिखरले १ अर्ब ७३ करोड ८६ लाख, हिमालयन एभरेष्टले १ अर्ब ६० करोड ५८ लाख, सिद्धार्थ प्रिमियरले १ अर्ब ५४ करोड ७७ लाख र आईजीआई प्रुडेन्सियलले १ अर्ब २७ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

उक्त कम्पनी सहित नेको, एनएलजी, सानिमा जीआईसी र यूनाइटेड अजोडले एक अर्ब भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् ।

लघु कम्पनीको व्यापार साढे ३६ करोड

यो अवधिमा लघु कम्पनीहरुले ३६ करोड ६५ लाख रुपैयाँ भन्दा धेरै बीमाशुल्क संकलन गरेका छन् । गत वर्षको सोही अवधिमा कम्पनीहरूले २६ अर्ब १४ करोड रुपैयाँ संकलन गरेका थिए । 

सबैभन्दा धेरै ट्रस्ट माइक्रो इन्स्योरेन्सको व्यापार ५९ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५ करोड ९३ लाख रुपैयाँ संकलन गरेको यस कम्पनीले यस वर्ष ९ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ । यस्तै, प्रोटेक्टिभ माइक्रोको व्यापार ५१ प्रतिशतले वृद्धि हुँदा स्टार माइक्रोको ३३.२० र नेपाल माइक्रोको २२.४० प्रतिशतले बढेको छ । 

कार्तिक मसान्तसम्म सबैभन्दा धेरै प्रोटेक्टिभले ९ करोड ६९ लाख रुपैयाँको व्यापार गरेको छ ।  

null