काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि आवेदन दिने कम्पनीको संख्या ८२ पुगेको छ । हाल आईपीओका लागि पाइपलाइनमा रहेका कम्पनीहरुको ५४ अर्ब ९५ करोड २६ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन् ।
धितोपत्र बोर्डका अनुसार हाल ८२ कम्पनीले सर्वसाधारणलाई ३८ करोड २५ लाख १४ हजार ९ सय ५५ कित्ता शेयर (आईपीओ) जारी गर्न अनुमति मागेका हुन् ।
बोर्डले प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा माथि रहेका कम्पनी मात्र आईपीओ पाइपलाइनमा रहने बताएको छ । यसअघि संसद्को सार्वजनिक लेखा समितिले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको शेयर निष्कासन प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनी पाइपलाइनमै समेत नरहने बोर्डको भनाई छ ।
बोर्डका अनुसार होटल तथा पर्यटन क्षेत्रका ६ कम्पनीले २ अर्ब ११ करोड ६४ लाख रुपैयाँ बराबरको २ करोड ११ लाख ६४ हजार कित्ता आईपीओ जारी गर्न निवेदन दिएका छन् । त्यस्तै, ३९ जलविद्युत् आयोजनाबाट १७ अर्ब ५१ करोड १६ लाख ९० हजार रुपैयाँ बराबरको १७ करोड १० लाख ४३ हजार कित्ता शेयर जारी गर्न बोर्डमा आवेदन परेको छ ।
लगानी समूहअन्तर्गत चार कम्पनीले ३ अर्ब १४ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ५० हजार ३ सय ७५ कित्ता आईपीओ जारी गर्न आवेदन दिएका छन् । चारमध्ये एक कम्पनीले प्रिमियममा आईपीओ निष्काशनको माग गरेको छ ।
उत्पादन तथा प्रशोधनतर्फ १९ कम्पनीले २७ अर्ब ४५ करोड ७४ लाख १६ हजार रुपैयाँ बराबरको १३ करोड ११ लाख १७ हजार २ सय ७२ कित्ता शेयर निष्कासन प्रक्रियामा छन् । यीमध्ये आधादर्जन कम्पनीले प्रिमियममा आईपीओ निष्काशनको अनुमति माग गरेका छन् ।
माइक्रो इन्स्योरेन्स समूहका ३ कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका छन् । यसैगरी, अन्य समूहका ११ कम्पनीले ४ अर्ब ५ करोड १२ लाख ५ हजार रुपैयाँ बराबरका ३ करोड ३७ लाख ९० हजार ५४ कित्ता शेयर निष्कासनका लागि अनुमति मागेका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गत असोजसम्म सूचीकृत कम्पनीको संख्या २ सय ७६ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । ९४ जलविद्युत्, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका कम्पनी रहेको नेप्सेको तथ्यांक छ ।
आर्थिकन्यूज