शीर्षकहरू

भारतले नेपालमा १०० रुपैयाँभन्दा माथिका नोट प्रयोगमा लगाएको प्रतिबन्ध हटायो

भारतले नेपालमा १०० रुपैयाँभन्दा माथिका नोट प्रयोगमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । भारतले नेपालमा १०० रुपैयाँभन्दा माथिका भारतीय नोट प्रयोगमा लगाएको प्रतिबन्ध हटाएको छ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले राजपत्रमार्फत नेपाल र भूटानमा उच्च दरका भारतीय नोट प्रयोग गर्न पाउने व्यवस्था लागू गरेको हो।

आरबीआईका अनुसार भारतमा प्रचलनमा रहेका २०० र ५०० दरका नोट नेपालमा वैध हुनेछन्। २,००० दरका नोट वैध रहे पनि २०२३ देखि त्यसको छपाइ रोकिएको छ।

सन् २००० मा फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट लागू भएपछि नेपालमा ठूलो दरका भारतीय नोटको चलनचक्रमा रोकिएको थियो। नोटबन्दीपछि तस्करी तथा सुरक्षासम्बन्धी जोखिमका कारण भारतले नेपालमा १०० रुपैयाँभन्दा माथिका नोट प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

नयाँ व्यवस्थाअनुसार २५ हजार भारतीय रुपैयाँभन्दा बढी नोट नेपाल–भारतबीच ल्याउन वा लैजान नपाइने सीमा कायम रहनेछ।

भारतको निर्णयपछि नेपाल राष्ट्र बैंकले सम्बन्धित परिपत्र संशोधन गरी सूचना जारी गरेपछि २०० र ५०० दरका नोटको सटही तथा चलन नेपालमा औपचारिक रूपमा सुरु हुनेछ।