काठमाडौं । सामाजिक सुरक्षा कोष (एसएसएफ) ले सेवा वितरण र आन्तरिक कार्यक्षमता सुधार गर्ने उद्देश्यसहित आफ्नो डिजिटल प्रणालीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि समावेश गर्ने प्रक्रिया सुरू गरेको छ। कोषले कोर बिजनेस सफ्टवेयर ‘सोसिस’ मा एआई एकीकृत गरी बिमा दाबी व्यवस्थापन, कल–सेन्टर सञ्चालन तथा प्रशासनिक सेवा स्वचालनका लागि परीक्षण चरण सञ्चालनमा ल्याएको छ।
कोषका अनुसार दैनिक अस्पतालहरूमार्फत ठूलो मात्रामा आउने स्वास्थ्य बिमा दाबीहरूको प्राथमिक छानबिन एआईले गर्ने व्यवस्था परीक्षणमा राखिएको छ। बिमा दाबीहरूको वर्गीकरण, प्रारम्भिक समीक्षा र सिफारिस एआईमार्फत गराउने प्रणालीले मानव संसाधनमा पर्ने दबाब कम गर्ने लक्ष्य राखिएको छ।
कल–सेन्टर सेवामा पनि एआई आधारित ‘अटो–रेस्पोन्स’ प्रणाली विकास भइरहेको छ, जसअन्तर्गत निश्चित प्रश्नहरूको जवाफ स्वचालित रूपमा प्रविधिले दिनेछ। एआईले नबुझ्ने विषयहरू मात्रै मानव कर्मचारीमा स्थानान्तरण हुने संरचना बनाइँदै छ।
कोषले कर्जा प्रवाह, रकम भुक्तानी तथा युजर भेरिफिकेसनजस्ता नन–मेडिकल सेवाका लागि पनि ‘बट–आधारित’ एआई प्रयोग विस्तार गरिरहेको छ। हाल सोसिस तथा ‘ओपन इमिस’ प्रणालीमा एआई समायोजनका लागि ‘प्रुफ अफ कन्सेप्ट’ चरण चलिरहेको छ। यी सबै प्रणाली देशकै आईटी कम्पनी र स्थानीय आईटी जनशक्तिको सहकार्यमा निर्माण भइरहेका छन्।
चालु आर्थिक वर्षको बजेटले एआई तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको छ। बजेटमा एआई र मेसिन–लर्निङ अनुसन्धान विस्तार, निजी क्षेत्रसँग सहकार्यमा एआई सेन्टर स्थापना तथा व्यावसायिक प्रयोगलाई सहज बनाउने व्यवस्था उल्लेख छ।
एसएसएफले यसै लक्ष्यअनुसार चालु आर्थिक वर्षभित्र एआई प्रणाली विस्तार, स्वचालित दाबी समीक्षा, डिजिटल भुक्तानी प्रक्रिया, कल–सेन्टर अनुकूलन र सेवा–सम्बन्धी अन्य डिजिटल सुधारलाई मूर्त रूप दिन काम अघि बढाएको छ।
आर्थिकन्यूज