काठमाडौ । बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स (हयात रिजेन्सी) ले ‘जेन–जी आन्दोलन’ पछि एक वर्षका लागि होटल बन्द हुने भएकोले सबै मजदुर तथा कर्मचारीलाई बन्द अवधिभर न्यूनतम पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको छ।
होटल प्रशासनले मजदुर संगठनहरूसँगको वार्तापछि होटल पुन: सञ्चालनसम्म श्रमिकलाई सरकारले निर्धारण गरेको आधारभूत तलब १२ हजार १७० दिने सहमति गरेको छ। यस अवधिमा तलबको ३१ प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गरिने व्यवस्था गरिएको छ, जसमा ११ प्रतिशत व्यवस्थापनको योगदान र २० प्रतिशत होटलको श्रमिक कोषबाट योगदान हुने व्यवस्था छ।
श्रमिकको तलब भुक्तानी सुनिश्चित गर्न छुट्टै कोष स्थापना गरिएको छ, जसमा २ करोड २० लाख रुपैयाँ राखिएको छ। व्यवस्थापनले थप २० लाख रुपैयाँ योगदान गर्ने सहमति पनि गरिएको छ।
होटलमा पूर्ण मर्मत र पुन: सञ्चालनमा कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको छ। बन्द अवधिमा होटलमा प्रवेशमा रोक लगाइएपछि श्रमिकहरूले असहमति जनाएर मागपत्र पेश गरेका थिए।
सहमति अनुसार, होटल सञ्चालनमा फर्किएसँगै श्रमिक र मजदुरहरू पुन: काममा फिर्ता बोलाइने व्यवस्था पनि गरिएको छ। यसअघि व्यवस्थापनले बन्द अवधिमा पारिश्रमिक नदिने र पुन: रोजगार उपलब्ध गराउनेमा अस्पष्टता देखाएका कारण मजदुरहरूले माग राखेका थिए।
आर्थिकन्यूज