शीर्षकहरू

काठमाडौंमा लामो दूरीका सवारी अब बसपार्कबाट मात्रै छुट्ने

काठमाडौंमा लामो दूरीका सवारी अब बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अब अनिवार्य रूपमा तोकिएको बसपार्कबाट मात्रै छुट्ने व्यवस्था लागू गरिएको छ।

उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण र सडक सुरक्षा सुनिश्चित गर्न गरिएको यस व्यवस्थाअन्तर्गत लामो दूरीका सवारी साधनले सडक किनारामा जथाभावी यात्रु चढाउने वा ओराल्ने अनुमति पाउने छैनन्। विगतमा सडकमा रोक्ने क्रममा विशेषगरी ‘पिक आवर’ समयमा जाम बढिरहेको स्थिति सुधार गर्न यस कदम उठाइएको हो।

साथै, लामो दूरीका सवारी साधनका लागि दिइँदै आएको बाटो इजाजतपत्रको पुनरावलोकनको आवश्यकताबारे सम्बन्धित निकायलाई ट्राफिक कार्यालयले जानकारी गराइसकेको छ।

ट्राफिक नियम उल्लंघन कम गर्न अनलाइन सचेतना कक्षा सञ्चालनमा आएको छ। यसमार्फत रातो बत्ती उल्लंघन, जथाभावी लेन क्रस, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई जिम्मेवार व्यवहार विकास गर्ने उद्देश्यले कक्षा दिइनेछ।

सवारी चालक र सेवाग्राही दुबैले घरमै बसेर अनलाइन कक्षा लिन सक्ने नयाँ प्रणालीमार्फत सेवाग्राहीलाई थप सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ। मोबाइल एप प्रयोग गर्नेले पुरानो एप अनइन्स्टल गरी पुनः इन्स्टल गर्नुपर्ने व्यवस्था रहेको छ। यस कदमले उपत्यकामा लामो दूरीका सवारी साधनको संचालनलाई व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।