शीर्षकहरू

नेपाल विद्युत् प्राधिकरणको पहिलो त्रैमासमा नाफा २५% घट्यो

नेपाल विद्युत् प्राधिकरणको पहिलो त्रैमासमा नाफा २५% घट्यो

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमासमा ६ अर्ब ७६ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ। प्राधिकरणको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार करअघिको नाफा सोबराबरको देखिएको हो।

समीक्षा अवधिमा प्राधिकरणको कुल आम्दानी ४६ अर्ब १ करोड ६७ लाख रुपैयाँ र खर्च ३९ अर्ब २५ करोड ५० लाख रुपैयाँ रहेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा २५.८ प्रतिशतले कम हो। गत आवको पहिलो त्रैमासमा प्राधिकरणले ९ अर्ब ११ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

 चालू आवमा नाफा घट्नुको मुख्य कारण विद्युत् खरिद खर्चमा भएको वृद्धि हो। गत आवको पहिलो त्रैमासमा प्राधिकरणले निजी क्षेत्र तथा सहायक कम्पनीका परियोजनाबाट २१ अर्ब ९ करोड १७ लाख रुपैयाँको विद्युत् खरिद गरेको थियो भने चालू आवको पहिलो त्रैमासमा विद्युत् खरिदमा २५ अर्ब ३ करोड रुपैयाँ खर्च गरिएको छ।

यद्यपि, समीक्षा अवधिमा विद्युत् बिक्री आम्दानी बढेको छ। गत आवमा बिक्री आम्दानी २६ अर्ब ७७ करोड ६६ लाख रुपैयाँ थियो भने चालू आवको पहिलो त्रैमासमा २९ अर्ब १४ करोड ७८ लाख रुपैयाँ आम्दानी भएको छ।

सिजन अनुसार विद्युत् उत्पादनमा उतार–चढाव पनि नाफामा प्रभाव पार्ने प्रमुख कारण रहेको छ। बर्खामा उत्पादन उच्च र खरिद मूल्य सस्तो हुने हुँदा प्राधिकरणको नाफा बढी हुन्छ। तर हिउँदमा उत्पादन घट्ने र महँगो विद्युत् आयात गर्नु पर्ने भएकाले नाफामा कमी देखिन्छ।