शीर्षकहरू

‘गिरिबन्धु टी–स्टेट’ जग्गा प्रकरण: पूर्व प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

‘गिरिबन्धु टी–स्टेट’ जग्गा प्रकरण: पूर्व प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ । ‘गिरिबन्धु टी-स्टेट’ को जग्गा सट्टापट्टा प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

चितवनका सञ्चिव भट्टराईले अख्तियारमा उजुरी दर्ता गर्दै ओलीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन्।

उजुरीमा उल्लेख भएअनुसार, ओली प्रधानमन्त्री भएको समयमा गरिएका पटक-पटकका सरकारी निर्णयहरू व्यापारी दीपकुमार मल्होत्रालाई प्रत्यक्ष फाइदा पुग्ने उद्देश्यले गरिएको दाबी गरिएको छ ।

विशेषगरी, गिरिबन्दु टी-स्टेटसँग सम्बन्धित ३४३ बिघा जग्गाको व्यवस्थापन, स्मार्ट सिटी परियोजना, र मल्होत्रा समूहसँग जोडिएका अन्य मुद्दाहरू प्रभावित हुने गरी सरकारी नीति र निर्णयमा हेरफेर गरिएको उजुरीमा आरोप लगाइएको छ ।

उजुरीकर्ता भट्टराईले यस प्रकरणमा उच्चस्तरीय छानबिन गरी भ्रष्टाचारमा संलग्न दोषीमाथि कारबाही गर्न अख्तियारसँग माग गरेका छन् ।