काठमाडौं । भूगर्भ सिमेन्ट लिमिटेडले आफ्नो जारी तथा चुक्ता पुँजी ५० करोड ५० लाख लाई बृद्धि गरी ८० करोड ८० लाख पुर्याउने निर्णय गरेको छ । यसका लागि आवश्यक रकम जुटाउन कम्पनीले शेयरधनीहरूरुलाई १ः०६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्दै आगामी पुस १ गतेका लागि साधारण सभा समेत आव्हान गरिसकेको छ ।
हकप्रद जारी पश्चात बृद्धि हुने पुँजीको व्यवस्थापनबाट ८०० देखि १००० टन क्षमताको आधुनिक क्लिंकर उत्पादन गर्ने रोटरी प्लान्ट स्थापना गर्ने उद्योगको प्रस्तावलाई सञ्चालक समितिले स्वीकृति प्रदान गरेको छ । हाल कम्पनीले ३०० टन क्षमताको भिएसके प्रविधिको प्लान्ट सञ्चालन गर्दै आएको छ ।
पश्चिम नेपालमा उच्च रूचाई पाएको भूगर्भ सिमेन्टले “गर्भैदेखि बलियो” भन्ने नारालाई आत्मसात् गर्दै गुणस्तरीय उत्पादन तथा दीगो औद्योगिक विस्तारतर्फ अग्रसर रहँदै आएको छ।
कम्पनीले ओर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपिसी) र पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पिपिसी) आधुनिक प्रविधिमार्फत उत्पादन गर्दै आएको छ । भूगर्भ सिमेन्टको दैनिक उत्पादन क्षमता १ हजार ५०० मेट्रिक टन सिमेन्ट र ३०० मेट्रिक टन क्लिंकर रहेको कम्पनीले जनाएको छ।
कम्पनीले वातावरणमैत्री आधुनिक ड्राइ-प्रोसेस प्रविधि तथा प्रदूषण नियन्त्रण प्रणालीमार्फत दिगो उत्पादन प्रक्रियालाई प्राथमिकता दिएको बताएको छ । उच्च गुणस्तरको उत्पादन र सेवा वितरणमार्फत ग्राहकहरुलाई उत्तम सिमेन्ट उपलब्ध गराउनु नै भूगर्भ सिमेन्टको मूल उद्देश्य रहेको छ । कम्पनीले स्थानीय समुदायको जीवनस्तर सुधार गर्न रोजगारीका अवसर, सुरक्षित कार्य वातावरण, उचित पारिश्रमिक र आवश्यक सुविधाहरु समेत उपलब्ध गराइरहेको छ ।
आईपीओको तयारीमा
उद्योगले साधारण शेयर निष्कासन गर्ने प्रक्रिया समेत अघि बढाएको छ । भूगर्भले १२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ६२ हजार ५ सय कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
पहिलो चरणमा भूगर्भले उद्योग प्रभावित क्षेत्र, सरकारी स्वीकृतिमा वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलगायत सर्वसाधारणका लागि २० प्रतिशत शेयर जारी गर्ने योजना बनाएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । वि.स. २०७३ मा स्थापना भएको उद्योग २०८० असार ७ गते पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो ।
भूगर्भ सिमेन्टको कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–-०६ मा सिमेन्ट कारखाना रहेको छ । त्यस्तै, ग्लोबल टेन्डरमार्फत अधिग्रहण गरी अर्घाखाँची जिल्लाको नरपानीरखाचीकोटमा चुनढुङ्गा खानी संचालन गरिरहेको छ ।
खानीले लगभग ८ वर्ग किलोमिटर क्षेत्र ओगटेका छ भने जसमा १७८.९८ मिलियन मेट्रिक टन चुनढुङ्गाको भौगोलिक संचय रहेको छ । जसमध्ये १६१.०८ मिलियन टन खानी योग्य रहेको छ। भूगर्भ सिमेन्टले लुम्बिनी, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा बजारहरुमा सेवा प्रदान गरेको कम्पनीले जनाएको छ।
उत्पादन प्रक्रियामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्दै उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ । “गर्भै देखी बलियो” नारासहित कम्पनीले नेपालको पूर्वाधार निर्माण र आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य राखेको छ ।
आर्थिकन्यूज