शीर्षकहरू

एसेम्बल उद्योगलाई सूक्ष्म निगरानी गर्दै वाणिज्य विभाग, विवरण माग गर्दै नाडालाई पत्र

एसेम्बल उद्योगलाई सूक्ष्म निगरानी गर्दै वाणिज्य विभाग, विवरण माग गर्दै नाडालाई पत्र

काठमाडौं । एसेम्बल उद्योगले राज्यबाट विभिन्न सुविधाका नाममा छुट पाए पनि त्यसको प्रभाव उपभोक्तामा नदेखिएको गुनासो बढ्न थालेको छ । सरकारले एसेम्बलिङ उद्योगलाई कर, अन्तशुल्क, विद्युत, आयकर लगायत विभिन्न शिर्षकमा छुट दिएपनि त्यसको लाभ व्यापारीले मात्रै लिएको र उपभोक्ताले भने फाइदा नपाएको भन्दै गुनासो बढ्न थालेको छ । 

यसै विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अध्ययन गर्ने भएको छ । यसका लागि विवरण माग गर्दै विभागले अटोमोबाइल व्यवसायीहरुको छाता संगठन द्वय नाडा अटोमोबाइल एसोशिएसन अफ नेपाल र नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफेक्सरर्स एसोशिएसन (नाइमा) लाई पत्र पठाएको छ । 

सरकारले विदेशबाट पार्ट पुर्जा आयात गरि नेपालमा नै जडान अटोमोबाइल्स उद्योगहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माको पालामा यस प्रकारका उद्योगका लागि भन्सार महशुलमा २५ प्रतिशत र अन्तशुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको हो । यसैगरी, उक्त उद्योगलाई आय करमा ४० प्रतिशत छुट, विद्युत महशुलमा पनि छुट दिइएको छ । तर, सरकारले यसरी विभिन्न शिर्षकमा ठूलो रकम छुट सुविधा दिए पनि राज्य र उपभोक्तालाई भने त्यसले कुनै फाइदा नपुगेको जानकारहरु बताउँछन् । 

यसै विषयमा हेल्लो सरकार मार्फत धेरै पटक गुनासो आएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जानकारी दिएको छ । कार्यालयको स्रोतका अनुसार एसेम्बल उद्योगबाट उत्पादन भएका सवारी साधन खरिदमा उपभोक्ताले भारी छुट पाउनु पर्ने हो, तर यसरी छुट नपाएपछि हेल्लो सरकारमा गुनासो बढ्न थालेको छ । 

यसरी हेल्लो सरकारमा आएको गुनासो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको पनि कार्यालय स्रोतले आर्थिक न्यूजलाई जानकारी दियो । कार्यालयले पठाएको गुनासो मन्त्रालयले विभागलाई पठाएको र विभागले यसबारे अध्ययन र अनुसन्धान गर्न लागेको विभागका उच्च अधिकारीले बताए । 

उनले भने, 'कुनै पनि कम्पनीले सरकारबाट लाभ लिएर कति सवारी उत्पादन गर्यो, आयात गरेको सवारीभन्दा नेपालमा नै बनेको सवारीको लागत मूल्य कति फरक छ ? उपभोक्तालाई कति छुट दिइएको छ ? भन्नेबारे हामीले अध्ययन तथा अनुसन्धान गर्न लागेका हौँ । यसका लागि विवरण माग गर्दै नाडा र नाइमालाई पत्र पठाएका छौँ ।’

गत असोज ३१ गते विभागले नाडालाई पत्र पठाएको जनाएको छ । नाइमालाई भने पछि पठाएको हो । 

ढाकछोप गर्न विवरण दिन आनाकानी 

वाणिज्य विभागले नाडालाई पठाएको पत्र अनुसार नाडाले पनि सबै एसेम्बल गर्ने उद्योगलाई पत्र पठाउँदै विवरण माग गरेको जनाएको छ । तर, हालसम्म ह्युण्डाई बाहेक कुनै पनि एसेम्बल उद्योगले नाडालाई विवरण पेश नगरेको नाडाका एक सदस्यले जानकारी दिए । 

उनले भने, 'वाणिज्य विभागबाट पत्र आएपनि हामीले सबै एसेम्बल उद्योगलाई सो पत्र अनुसार विवरण उपलब्ध गराउन पत्र पठाएका छौँ, तर ह्युण्डाई बाहेक अन्य कुने पनि उद्योगले त्यसको विवरण पेश गरेका छैनन् ।’ राज्यबाट लाभ लिएपनि उपभोक्तालाई छुट नदिएको विषय बाहिर आउने भएपछि उनीहरुले विवरण पेश गर्न आनाकानी गरेको हुनसक्ने नाडाका एक सदस्यले आंकलन गरे । 

उनले भने, 'उनीहरुले विवरण पेश नगर्नुको अर्थ केही कैफियत छ भनेर शंका गर्न सकिन्छ । राज्यबाट छुट पाए पनि उपभोक्तालाई उनीहरुले छुट सुविधा दिएका छैनन, त्यो विषय बाहिर आउने डरले विवरण पेश गर्न अटेर गरेको मेरो आशंका छ ।’

दुई पांग्रेमा बजाज, रोयल इन्फिल्ड, यामाहा, टीभीएस, होण्डा, टीभीएस, हिरो, सुजुकी, बेनेली, क्रसफायर लगायत ब्राण्डहरु नेपालमा नै एसेम्बल हुँदै आएका छन् । 

चार पांग्रेमा ह्युण्डाईले मात्रै एसेम्बल प्लान्ट सञ्चालन गरेको छ । ह्युण्डाईले हाल क्रेटा र भेन्यू मोडलहरु नेपालमा नै उत्पादन गर्दै आएको जनाएको छ । हालसम्म कम्पनीले १ हजार ५०० यूनिट नेपालमा नै उत्पादन गरिसकेको लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिका जनरल म्यानेजर दिपक थपलिया बताउँछन् । 

उनका अनुसार भारतबाट आयात गरेको क्रेटा र नेपालमा नै बनेको क्रेटामा ९ लाख रुपैयाँको फरक छ भने भेन्यूमा ४ लाख रुपैयाँको फरक छ । भारतबाट आयात हुने क्रेटाको मूल्य ८८ लाख ९६ हजार रुपैयाँ पर्दछ भने नेपालमा नै बनेको क्रेटाको मूल्य ७९ लाख ९६ हजार रुपैयाँ पर्दछ । 

यसैगरी, भारतबाट ल्याइएको भेन्यूको मूल्य ४९ लाख ९६ हजार रुपैयाँ पर्दछ भने नेपालमा नै बनेको भेन्यूको ४५ लाख ९६ हजार रुपैयाँ पर्दछ । 

null