काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले मंसिर २२ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख १५ हजार ५९६ कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीले नेपाल धितोपत्रबोर्डबाट कुल ११ लाख ५५ हजार ९६० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको हो।
कम्पनीको आईपीओमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर २२ गतेदेखि २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस ७ गतेसम्म लम्बिनेछ।
आईपीओ भर्न न्युनतम ४१ हजार ४० रुपैयाँ आवश्यक
यो बुक बिल्डिङ विधिबाट निष्काशन हुन लागेको आईपीओ हो । जसकारण कम्पनीको आईपीओमा न्यूनतम् ५० कित्ता आवेदन दिनुपर्नेछ भने अधिकतम् २० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यस कम्पनीको आईपीओको मूल्य प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा कायम गरिएको छ । कम्पनीको आईपीओको मूल्य बुक बिल्डिङ विधिबाट तय गरिएको हो । कम्पनीको आईपीओमा आवेदन दिनका लागि न्युनतम पनि ४१ हजार ४० रुपैयाँ आवश्यक पर्छ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष, सुरक्षित रेटिङ्ग
शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझिन्छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ ।
विवादले रोकियो, अदालतको आदेशपछि खुल्यो
२०८१ असार १२ मा आईपीओ निष्कासनका लागि बोर्डबाट स्वीकृति प्राप्त भए पनि विभिन्न प्रश्न उठेपछि यो बिषय अदातलसम्म पुगेपछि आईपीओ रोकिएको थियो । रिलायन्स स्पिनिङ मिल्स परमादेश माग गर्दै उच्च अदालत पाटन पुगेको थियो ।
तर, अदालतले रिलायन्सको पक्षमा अन्तरिम आदेश दिएपछि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो ।
कस्तो छ कम्पनी ?
रिलायन्स स्पिनिङ मिल्स २०५४ सालमा स्थापित उद्योगले पछिल्लो समय सञ्चालनमा आएको उत्पादनमूदक उद्योग हो । रिलायन्स स्पिनिङ्ग मिल नेपालको धागो उत्पादन गर्ने उद्योगहरुमध्ये रोजगारदाता उद्योगको रुपमा पनि सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको छ ।
रिलायन्सका उत्पादनहरू नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ । यसले मुलुकको समग्र अर्थ प्रणालीमा आयात तथा निर्यातमा सन्तुलन कायम गर्न महत्त्वपूर्ण योगदान दिने गरेको छ ।
यस कम्पनीका अध्यक्ष पवन कुमार गोल्याण हुन् भने प्रबन्ध सञ्चालक अक्षय गोल्याण हुन्। कम्पनीको मुल उद्योग ‘ए’ ईटहरी नगरपालिका वडा नं. १२ खनार, सुनसरीमा रहेको छ भने शाखा उद्योग ‘बि’ ईटहरी नगरपालिका वडा नं. ४ दुहाबि, सुनसरीमा रहेको छ।
यस्तो छ पुँजीगत संरचना
कम्पनीको अधिकृत पूँजी २ अर्ब ६० करोड रहेको छ । उक्त पूँजीलाई प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँका दरले २ करोड ६० कित्ता शेयरमा विभाजन गरिएको छ। कम्पनीको जारी पूँजी एक अर्ब ९० करोड रहेको छ । उक्त पूँजीलाई प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँका दरले एक करोड ९० लाख मात्र थान शेयरमा विभाजन गरिएको छ ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ७० करोड ७३ लाख ४४ हजार रहेको छ । उक्त पूँजीलाई प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १ करोड ७० लाख ७३ हजार ४ सय कित्ता शेयरमा विभाजन गरिएको छ । योग्य संस्थागत लगानीकर्ताहरुलाई छुट्टाइएको ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट भए पश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब ७८ करोड ४४ लाख ४ हजार मात्र पुगेको छ । सर्वसाधारणलाई ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात् कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड हुनेछ ।
आर्थिकन्यूज