शीर्षकहरू

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी २१ फागुनमा हुने गरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् ।

आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही २४ मंसिरमा प्रकाशित हुनेछ ।

यसरी आवेदन दिएका राजनीतिक दलले आगामी १३ र १४ पुसको बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी ३० माघमा भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी ७ माघमा विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी ८ माघमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, ९ माघमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।