काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (आइतबार) फेरि राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले पछिल्ला दिनमा लामो अवधिका लागि पैसा झिक्दै आएको छ । सोही क्रममा आज निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ फागुन १७ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गर्नेछ ।
पछिल्ला तीन वर्ष यता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रुपमा बजारबाट पैसा झिक्दै आएको छ । सुरुका दिनमा छोटो अवधिका लागि पैसा झिक्दै आएको राष्ट्र बैंकले अहिले लामो अवधिका लागि पैसा झिक्न थालेको हो ।
आर्थिकन्यूज