शीर्षकहरू

‘भेडा मरेर के भो मन मरेको छैन’

‘भेडा मरेर के भो मन मरेको छैन’

जुम्ला। चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौं भयो। जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रालगायतका चौपाया यहाँ चरनका लागि ल्याउँदछन्।

चन्दननाथ नगरपालिका-३ स्थित यस पाटन (चौर क्षेत्र) मा चन्दननाथ-२ खोलीकोट, भण्डारीवाडा, चन्दननाथ-३ शान्तिनगर, सिङ्खडावाडा, बस्थवाडासहित कनकसुन्दरी गाउँपालिकाका चौपायाको चरन क्षेत्र हो। चौरमाथिको उपल्लो जङ्गल जहाँ बाघ, भालुसहित कालिज र डाँफेको बासस्थान क्षेत्र पनि हो।

पाटनमा बाक्लो हिउँ पर्न छाडेपछि चन्दननाथ-३ भेडापालक किसान जङ्गबहादुर खत्री चिन्तित छन् नै। पछिल्ला दिनमा  उनी खुसी  देखिन्छन्। उनी भन्छन्, ‘पाटनमा बाक्लो हिउँ नपर्दा चरन क्षेत्रमा घाँसपातसहित अन्य झारपात र जडीबुटीका बिरुवा कम उम्रिन थाले। चौपायासहित जङ्गली जनावरलाई पाटनमा चरेर अघाउनै मुस्किल भयो।’ उनका अनुसार बाक्लो हिउँ परेको वर्ष पाटन क्षेत्रमा घाँसपात, झारपात धेरै उम्रिन्थे। जलवायु परिवर्तनका असर यहाँ पनि देखिएको छ।

यस स्थानमा साँझ-बिहान सिरेटो (हावा) चलेर अत्यधिक चिसो हुन्छ। स्थानीयवासीले सूर्योदयपछिको पारिलो घाममा मात्र पाटनमा चौपायालाई चरनका लागि ल्याउँदछन्।

जुम्ला बजारको दृश्यावलोकनका लागि यो पाटन आकर्षक क्षेत्र मानिन्छ। दृश्यावलोकन गर्नेको यहाँ भीड लाग्ने गर्दछ। पाटनको पश्चिमी केही भूभागमा सिमसार छ। पछिल्लो समय यही सिमसार जमिनलाई प्राकृतिक रूपमै संरक्षण गरेर दुईवटा पुनर्भरण (रिचार्ज) पोखरी बनाइएको छ। यसबाट चौपायाका लागि पानी उपयोग गर्न सजिलो भएको छ।  सिमसार क्षेत्रलाई उपयोग गरेर पोखरी बनाइएपछि स्थानीयवासीलाई चौपायालाई पानी खुवाउन परेको समस्या केही हदसम्म अन्त्य  भएको छ।

चिरे-घिमे रिचार्ज पोखरी निर्माण समितिका अध्यक्षसमेत रहेका ५१ वर्षीय किसान खत्रीले खुसी हुँदै भने, ‘रिचार्ज पोखरीमा जम्मा भएका पानीखान पाटन र जङ्गलमा चरनका लागि ल्याइएका चौपायासहित जङ्गली जनावरहरू आउन थालेका छन्।’  उनका अनुसार एक घण्टा टाढादेखि पोखरीमा पानी पिउन बस्तुभाउसहित जनावर आउँदछन्। अहिले अत्यधिक चिसोका कारण पोखरीको केही भाग बरफ भएको छ।

स्विस रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना’ ले रिचार्ज पोखरी निर्माण गर्न सहयोग गरेको हो।

परियोजनाकी जिल्ला संयोजक ईश्वरा सुवेदीले भनिन्, ‘पाटन र जङ्गलमा आएका चौपायासहित जङ्गली जनावरलाई पानीको चरम सङ्कट छ भन्ने कुरा समुदायबाट जानकारी आयो। यसलाई केही हदसम्म अन्त्य गर्न समुदायका मागअनुसार नै रिचार्ज पोखरी निर्माणमा सहयोग गरेका हौँ।’ उनका अनुसार यसले समुदायलाई कसरी जलवायु परिवर्तन अनुकूलन हुने भन्ने कुरा  पनि सिकाएको छ।   

किसान खत्रीले पालेका २०० भेडामध्ये गत असार २३ गतेको अकल्पनीय चट्याङबाट ५२ वटा अकालमै मरे। उनले आँसु झार्दै भने, ‘भेडा त मरेर केही छैन, पाल्न सकिन्छ। हेरचाहका लागि राखिएको भाइ चट्याङ लागेर गम्भीर घाइते भयो। जुम्लामा उपचार हुन नसकेपछि काठमाडौँको टिचिङ अस्पतालमा लगियो। त्यहाँ उपचारबाट अझै फर्किएको छैन। सम्पत्ति सकिन लागिसक्यो कसैले सहयोग नगर्दा दिक्क लाग्छ। सहयोग गर्छु भन्दछन् कसैले गर्दैनन्।’

उत्कृष्ट भेडापालक किसानका रूपमा उनले धेरै मानसम्मान पनि प्राप्त गरिसकेका छन्। भेडा मरे पनि किसान खत्रीको मुहारमा निराशा पटक्कै झल्किँदैन। दसैँमा बिक्री गरेर बाँकी रहेका माउ भेडा चराउन पाटन क्षेत्रतिर लाग्दै गरेको अवस्थामा उनले भने, ‘चेहेरेमा प्राकृतिक रूपमा रिचार्ज पोखरी बनाइयो। यसबाट चौपायालाई पानी र नुन खुवाउन सजिलो भएको छ। यसका लागि नेफाल रेडक्रसलाई धन्यवाद। शत्ति र श्वास रहेसम्म भेडा पाल्न छाड्दिनँ। जे गर्छु यही माटोमा गर्छु। भेडापालन व्यवसायमा पैसा पनि छ जोखिम पनि छ। पाँच छ लाख कमाउन विदेश जानुपर्दैन।’

मासु र ऊनका लागि भेडाको उपयोग गरिन्छ।  

चन्दननाथ नगरपालिकी उपप्रमुख रामदेवी खड्काले जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने भावनाअनुसार चेहेरे पाटन क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरिएको र यसबाट समुदाय लाभान्वित भएको बताइन। उनले भनिन्, ‘यसबाट बस्तुभाउले निर्धक्क पानी खान पाएका छन्।’  

चन्दननाथ-३ का वडाध्यक्ष राजन खत्रीले जलवायु उत्थानशील बनाउन समुदायलाई सक्रिय बनाइएको र यसैअन्तर्गत चेहेरेको पाटन क्षेत्रमा प्राकृतिक पोखरी निर्माण गरिएको जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटीकी निर्देशक मोना अर्यालले जलवायु परिवर्तनका सङ्कट टार्न समुदायलाई जलवायु उत्थानशील बनाउन  नेपाल रेडक्रसले ध्यान दिइरहेको बताइन्। रासस