काठमाडौं । चीनको अर्थतन्त्र सन् २०२५ को अन्त्यतिर पनि मजबुत देखिएको छ । भू–राजनीतिक तनाव र व्यापारिक चुनौतीहरू कायम रहँदा पनि चीनको मजबुत आर्थिक आधार, नीतिगत सक्रियता र औद्योगिक रूपान्तरणले विश्वभर सकारात्मक अपेक्षा बढाएको छ ।
गोल्डम्यान स्याक्सले हाल प्रकाशित प्रतिवेदनमा सन् २०२५ का लागि चीनको जिडिपी वृद्धि दर ४.९ प्रतिशतबाट बढाएर ५ प्रतिशत पु¥याएको छ । प्रतिवेदनले आगामी केही वर्षमा चीनको वास्तविक निर्यात वृद्धि ५ देखि ६ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ, जसले विश्व बजारमा चीनको प्रतिस्पर्धात्मक क्षमता निरन्तर विस्तार भइरहेको सङ्केत गर्छ ।
पारम्परिक उद्योगको उन्नयन र नयाँ ऊर्जा तथा प्रविधि–आधारित उद्योगको तीव्र विकासले यो वृद्धि सम्भव भएको बताइएको छ । आर्थिक सहयोग तथा विकास सङ्गठन (ओईसीडी) ले पनि चीनको वृद्धि पूर्वानुमान ५ प्रतिशतमा संशोधन गर्दै चीनलाई विश्व आर्थिक स्थिरताको महत्वपूर्ण आधारको रूपमा स्वीकार गरेको छ ।
ओईसीडीका अनुसार आय वृद्धि, उपभोग विस्तार र सवारीसाधन तथा घरायसी सामान अदला–बदली कार्यक्रमले आन्तरिक मागलाई उल्लेखनीय रूपमा बढाएको छ । डोइचे बैङ्क, मर्गन स्ट्यान्लीजस्ता प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले चीनको नीतिगत क्षमतालाई बलियो र प्रभावकारी रहेको निष्कर्ष निकालेका छन् ।
डोइचे बैङ्कका अनुसार ५०० अर्ब युआन बराबरको नयाँ वित्तीय साधनले सन् २०२५ को अन्तिम त्रैमासिक र सन् २०२६ को प्रारम्भमा घरेलु मागलाई थप मजबुत बनाउनेछ । स्वदेशी विश्लेषकहरूले पनि चीनको विशाल बजार, सुव्यवस्थित औद्योगिक श्रृङ्खला, प्रविधि–आधारित व्यापार संरचना सुधार तथा उदाउँदो उपभोग क्षेत्रलाई भविष्यको वृद्धि इन्जिनका रूपमा देखेका छन् ।
घरेलु उत्पाद र नयाँ व्यवसाय मोडेलहरूको विश्व बजारमा बढ्दो स्वीकार्यता चीनको आर्थिक सम्भावनालाई थप मजबुत बनाएको छ । उच्च–गुणस्तरीय विकास, स्थिरता र पुनर्जीवन क्षमताजस्ता मूल आधारहरू अपरिवर्तित रहेको र चीनले विश्व अर्थतन्त्रमा स्थिरता र वृद्धि दुवैका लागि महत्वपूर्ण भूमिका खेलिरहने विश्लेषकहरूको निष्कर्ष छ ।-सिन्ह्वा
आर्थिकन्यूज