काठमाडौं । रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसंघको संरक्षकत्वमा आगामी पुष ३ गतेदेखि १७ गतेसम्म १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०८२ बुटवलमा आयोजना हुने भएको छ। पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
महोत्सवको नारा “समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार” तय गरिएको छ। संघले २०४५ सालमा पहिलोपटक नेपालमा औद्योगिक प्रदर्शनी आयोजना गरेको र २०५३ सालदेखि निरन्तर विभिन्न औद्योगिक प्रदर्शनीहरू गर्दै आएको संघले जनाएको छ।
यस वर्षको महोत्सव भर्खरै निर्माण सम्पन्न आधुनिक अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुनेछ। स्वदेशी उत्पादन, कृषि, पर्यटन तथा प्रविधिसम्बन्धी सामग्रीहरू प्रदर्शनीका लागि छुट्टाछुट्टै १० वटा पेभिलियन तयार गरिनेछ। स्टलको सजावट, संरचना र व्यवस्थापन अघिल्ला संस्करणभन्दा अत्याधुनिक हुने आयोजकले दाबी गरेको छ।
प्रदर्शनीको मूल उद्देश्य स्वदेशी उत्पादनको प्रवर्द्धन, बजार विस्तार र उपभोक्तामा स्वदेशी वस्तु प्रयोग गर्ने संस्कार विस्तार गर्नु रहेको बताइएको छ। नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई यसपटक विशेष प्राथमिकता दिइनेछ। त्यसैले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्र राखिनेछ।
आयोजकका अनुसार महोत्सवले प्रविधिक तथा व्यवसायिक ज्ञान आदान–प्रदान, उद्योगका नयाँ अवसर पहिचान, सरकारी निकाय, उत्पादनकर्ता र उपभोक्ताबीच अन्तरसम्वाद, साथै आन्तरिक तथा बाह्य औद्योगिक वातावरणबारे जानकारी आदान–प्रदान गर्न सहयोग गर्नेछ। युवा तथा महिला उद्यमीलाई प्रोत्साहन, निर्यातमुखी उद्योग पहिचान, पर्यटन क्षेत्रको प्रवर्द्धन तथा औद्योगिक जनशक्ति निर्माण पनि प्रमुख उद्देश्यहरूमा परेका छन्।
महोत्सवमा औद्योगिक प्रविधि, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी–कन्फेक्सनरी, छाला–जुत्ता, खाद्यान्न, सूचना प्रविधि लगायतका करिब ५०० स्टल रहनेछन्। झन्डै ८ लाख दर्शकले प्रदर्शनी अवलोकन गर्ने र करिब ३० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। प्रदर्शनीसँगै कृषि, प्रविधि, पर्यटन, कला तथा संस्कृतिसम्बन्धी विभिन्न गोष्ठी, अन्तरक्रिया र उद्यमशीलता प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गरिनेछ।
महोत्सवलाई आकर्षक बनाउन लोकदोहोरी प्रतियोगिता, आधुनिक गीत–संगीत प्रस्तुति, हास्य कलाकारका कार्यक्रम, विद्यालय–स्तरीय लोकनृत्य प्रतियोगिता,अन्तर–कलेज वक्तृत्व कला प्रतियोगिता, लोकभजन प्रतियोगिता र ‘प्रदर्शनी आइडल’ जस्ता मनोरञ्जनात्मक कार्यक्रम समेत समावेश गरिनेछ।
कार्यक्रम सफल बनाउन रुपन्देही उद्योग संघका अध्यक्षको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति तथा ३० वटा उपसमिति गठन गरिएको छ।
आर्थिकन्यूज