काठमाडौं । नयाँ राजनीतिक शक्ति बनिरहेको श्रम संस्कृति पार्टीले आइतबार काठमाडौंको सिफल चौरमा आफ्नो पहिलो औपचारिक सभा गर्दै राजधानीमा संगठन विस्तार अभियान सशक्त रूपमा अघि बढाएको घोषणा गरेको छ। निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सम्पन्न भएको केही दिनमै पार्टीले राजधानीमा आयोजित कार्यक्रममा उल्लेख्य भीड उतारेपछि आगामी राजनीतिक प्रतिस्पर्धामा आफू प्रभावकारी उपस्थितिका साथ अघि बढ्ने संकेत दिएको छ।
सभामा पार्टी अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्कबहादुर साम्पाङले श्रम, सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई पार्टीको मुख्य रणनीतिक एजेन्डा बनाइने बताएका छन्। साम्पाङले परम्परागत शैलीमा पानस बालेर कार्यक्रम उद्घाटन गर्दै स्थानीय तहबाट सुरु हुने ‘राजनीतिक–सांस्कृतिक परिवर्तन’ पार्टीको प्राथमिकता हुने स्पष्ट पारे।
कार्यक्रममा उपस्थित वक्ताहरूले श्रम–केन्द्रित वैकल्पिक राजनीतिक अभ्यास, जनसहभागिता, तथा भ्रष्टाचारविरुद्ध निरन्तर जनदबाव अभियानलाई पार्टीको दीर्घकालीन दिशाका रूपमा प्रस्तुत गरे। सो अवसरमा काठमाडौं उपत्यकामा संगठन विस्तार, सदस्य भर्ना, संरचना निर्माण र आगामी राजनीतिक गतिविधिको प्रारम्भिक कार्ययोजना सार्वजनिक गरिएको पार्टीले जनाएको छ।
सिफल चौरमा आयोजित यो सभालाई पार्टीले राजधानीमा औपचारिक उपस्थिति दर्ज गर्ने पहिलो ठूलो सार्वजनिक शक्ति–प्रदर्शनका रूपमा व्याख्या गरेको छ।
आर्थिकन्यूज