शीर्षकहरू

एनपिएलको फाइनलका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै, विराटनगर टस जितेर बलिङमा

आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्ने

एनपिएलको फाइनलका लागि सुदूरपश्चिम र विराटनगर भिड्दै,  विराटनगर टस जितेर बलिङमा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा केही बेर अघि भएको टसमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिए । 

आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्नेछ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुनेछ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ । अहिले एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच भिड्नेछन् ।

पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् ।

लिग चरणको खेलमा सुदूरपश्चिमले खेलेको सातमध्ये ६ खेलमा जित तथा एक खेलमा पराजय भोगेको थियो । त्यस्तै समान सात खेल नै खेलेको विराटनगरले पाँच खेल जित हासिल गरेको थियो । 

विराटनगरले शंकर रानाको स्थानमा नारायण जोशीलाई ल्याएको छ।  सुदूरपश्चिमले भने पाँच खेलाडी परिवर्तन गरेको छ। दीपक बोहरा, हिक्मत महरा, जस ब्राउन, धु्रव परासर र पुनित मेहरालाई आजको खेलमा बेन्चमा राखेको छ। 

सुदूरपश्चिम रोयल्सको टोली : दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, सेल्डन ज्याक्सन, स्कट कुग्लेन, मुख्तर अहमद र हरमित सिंह।

विराटनगर किंग्सको टोली : प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोेशी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डि लाङगे।