काठमाडौं । बीमा कम्पनीहरुले जेनजी आन्दोलनको क्षतिमा ४ अर्ब ३८ करोड तथा गत असोजको बाढी पहिरोको क्षतिमा १ करोड ८८ लाख बीमा दाबी भुक्तानी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेनजी आन्दोलनका क्रममा २३ अर्ब ४४ करोड तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा ४ अर्ब ४ करोड प्रारम्भिक दाबी परेको छ ।
प्राधिकरणका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०० वटा बीमा दाबीको करिव २३ अर्ब ४४ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब ३८ करोड ४८ लाख दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ७१० वटा बीमा दाबीको दाबी रकम करिव १९ अर्ब १ करोडमध्ये करिव ३ अर्ब १२ करोड २७ लाख र मोटर बीमातर्फ २ हजार ३०८ वटा बीमा दाबीको दाबी रकम करिव ३ अर्ब ४८ करोडमध्ये करिव १ अर्ब ९ करोड भुक्तानी भएको छ ।
यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २२५ वटा बीमा दाबीको करिव ५५ करोड ५५ लाख दाबी रकममध्ये करिव ६ करोड ८१ लाख, परिवहन बीमातर्फ १२ वटा बीमा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ६६ लाख र अन्य बीमातर्फ ४५ वटा बीमा दाबीको करिव रू. ३८ करोड ४० लाख दाबी रकममध्ये करिव ४९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
बीमकहरूलाई करिव २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी
जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५६ करोड अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको छ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६१ वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको छ ।
बाढी पहिरोको ४ अर्ब ४ करोड दाबी रकममध्य १ करोड ८८ लाख भुक्तानी
त्यस्तै, २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ७८१ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव ४ अर्ब ४ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कूल ६७ वटा दाबीको कूल दाबी रकम करिव १ करोड ८८ लाख बीमितहरूलाई भुक्तानी भएको छ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार निर्जीवन बीमा कम्पनीहरूबाट सम्पत्ति बीमातर्फ ४१० वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४५ करोड ३५ लाखमध्ये कूल २० वटा बीमा दाबीको करिव ८३ लाख भुक्तानी भएको छ ।
इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ वटा बीमा दाबीको करिव ५० करोड ३७ लाखमध्ये कूल ६ वटा दाबीको करिव २ लाख, कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबीको करिव ४ करोड १४ लाखमध्ये कूल ३१ दाबीको करिव १३ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा बीमा दाबीको करिव ३ करोडमध्ये कूल ९ वटा दाबीको करिव ८७ लाख बीमा दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
आर्थिकन्यूज