शीर्षकहरू

हिल्टन पुनर्बीमा विवाद : चार कम्पनी प्राधिकरणको राडारमा

हिल्टन पुनर्बीमा विवाद : चार कम्पनी प्राधिकरणको राडारमा

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको हिल्टन होटलको हुलदंगा तथा आतंकवाद जोखिम पुनर्बीमासम्बन्धी अनियमितताप्रति शंका उत्पन्न भएपछि ओरिएण्टल इन्स्योरेन्स, हिमालयन पुनर्बीमा, नेपाल पुनर्बीमा तथा एलियन्ट पुनर्बीमा ब्रोकर कम्पनी नेपाल बीमा प्राधिकरणको कडा निगरानीमा परेका छन् । प्राधिकरणको नियम विपरीत हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा गरिएको भन्ने उजुरी परेपछि प्राधिकरणले अनुसन्धान अघि बढाएको हो ।

प्राधिकरणका अनुसार सबै कम्पनीले बीमांक बराबरको हुलदंगा तथा आतंकवाद बीमा अनिवार्य रूपमा गर्नुपर्छ, र सो बीमाको पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीले सञ्चालन गर्ने पुल मार्फत मात्र गर्नुपर्ने व्यवस्था छ । तर ओरिएण्टल इन्स्योरेन्सले प्राधिकरणको सो व्यवस्था विपरीत हिल्टनको उक्त जोखिम पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीमा नगरेको आरोप पुनर्बीमा कम्पनीले लगाएको छ । हिल्टनको पुनर्बीमा आफूसँग नभएको भन्दै नेपाल पुनर्बीमाका कर्मचारीले अडान लिएपछि ओरिएण्टल प्राधिकरणको निगरानीमा आएको हो ।

गत असोजमै प्राधिकरणले ओरिएण्टल इन्स्योरेन्समा छापा हानेर हुलदंगा तथा आतंकवाद जोखिम पुनर्बीमासम्बन्धी सबै फाइलका प्रतिलिपि लिएको कम्पनी स्रोतले जनाएको छ । प्राधिकरणले हिल्टनसम्बन्धी कागजात खोजिरहेको र कर्मचारीहरूसँग सोधपुछ गरिरहेको पनि बताइएको छ ।

ओरिएण्टल इन्स्योरेन्सका प्रवक्ता मान बहादुर ढकालका अनुसार प्राधिकरणले मागेका सबै सूचना उपलब्ध गराइएको छ । “हिल्टन होटल सम्बन्धी छानबिन प्राधिकरण स्वयं गरिरहेको छ । हामीले सबै मागिएका कागजात उपलब्ध गराएका छौँ,” उनले भने । तर हिल्टनको पुनर्बीमा कहाँ गरिएको हो भन्ने प्रश्नमा उनले टिप्पणी गर्न चाहेनन्, छानबिनकै क्रममा बोल्नु उपयुक्त नहुने बताए ।

एलियन्ट पुनर्बीमा ब्रोकर पनि अब प्राधिकरणको अनुसन्धानमा परेको छ । ओरिएण्टलका कर्मचारीसँगको सोधपुछमा हिल्टन होटलको पुनर्बीमा एलियन्टमार्फत गरिएको जानकारी पाएपछि प्राधिकरणले एलियन्टको कार्यालयमा समेत छापा हानेको हो । तर एलियन्टले जेनजी प्रदर्शनका क्रममा सबै फाइल जलेको दाबी गरेको स्रोतले बतायो । जसका कारण एलियन्ट प्राधिकरणको कडा निगरानीमा परेको छ ।

यद्यपि प्राधिकरणले एलियन्टले हिमालयन पुनर्बीमाको नाममा बनाएको डेबिट नोट फेला पारेको छ । तर उक्त डेबिट नोटले मात्र हिल्टनको पुनर्बीमा हिमालयन पुनर्बीमा कम्पनीमै भएको पुष्टि गर्न नसक्ने प्राधिकरण स्रोतले स्पष्ट पारेको छ ।

ओरिएण्टलमाथि भएको छानबिनका क्रममा नेपाल पुनर्बीमा कम्पनीले शंकर समूहका लागि प्रस्ताव गरिएको पुनर्बीमा व्यवसाय अस्वीकार गरेको भेटिएपछि प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीमा समेत अनुसन्धान बढाएको हो । नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले पठाएको पत्रमा शंकर समूहको ७५ करोड रुपैयाँसम्मको मात्र पुनर्बीमा स्वीकार गरिएको देखिन्छ । त्यसैले बीमकबाट आएको व्यवसाय नै अस्वीकार गरिएको भन्दै नेपाल पुनर्बीमा कम्पनी र सीईओ थापा पनि शंकाको घेरामा परेका छन् ।

हिमालयन पुनर्बीमा कम्पनीले भने हिल्टनको हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा आफूहरूले नलिएको प्रष्ट पारेको स्रोतले बताएको छ । उनका अनुसार प्रस्ताव आए पनि कम्पनीले अस्वीकार गरेको दाबी गरिएको छ । प्राधिकरणले हिमालयनसँग पनि सोधपुछ जारी राखेको छ ।

प्राधिकरण स्रोतका अनुसार हिल्टन होटलको पुनर्बीमासम्बन्धी विषय क्रमश पेचिलो बन्दै गएको छ । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेको विषयले घटना अझै रहस्यमयी बनेको बताइएको छ । “आइरहेको व्यवसाय अस्वीकार गर्नु आफैँमा शंकास्पद छ,” एक स्रोतले भन्यो ।

उता ओरिएण्टलले एलियन्ट ब्रोकरमार्फत पुनर्बीमा गरेको भेटिएको छ । तर एलियन्टले फाइल जलेको भन्दै कागजात उपलब्ध गराउन नसकेपछि छानबिन प्रभावित भएको बताइन्छ । हिमालयन पुनर्बीमाले पनि पुनर्बीमा नलिएको दाबी गरेपछि घटना अझ जटिल बनेको छ ।

हिल्टन घटनामा दोषी ठहरिए कानुनअनुसार सम्बन्धित कम्पनीहरुलाई कारबाही हुने प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीले बताए । “छानबिन भइरहेको छ । दोषी देखिए कारबाही हुन्छ,” उनले भने।

तर बीमकहरू भने यस घटनामा निष्पक्ष छानबिन र कारबाहीबारे विश्वस्त छैनन् । “नेपालको बीमा क्षेत्रमा शंकर समूहको ठूलो प्रभाव छ, त्यसैले छानबिन निष्पक्ष रूपमा हुन्छ भन्नेमा ढुक्क हुन कठिन छ,” एक बीमकले भने ।

जेनजी प्रदर्शनपछि क्षति पुगेको हिल्टन होटलको हुलदंगा तथा आतंकवाद जोखिम बीमामा चलखेल भएको भन्दै प्राधिकरणमा उजुरी परेको थियो । हिल्टनको बीमा ओरिएण्टल इन्स्योरेन्समा भए पनि ओरिएण्टलले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा नगरेको र ब्याक–डेट पोलिसी जारी गरी दाबी गर्ने प्रयास भएको आरोपसमेत उजुरीमा गरिएको थियो । सोही आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी पुगेपछि अख्तियारले प्राधिकरणलाई छानबिनका लागि पत्रसमेत पठाएको थियो ।

गत असोजमै प्राधिकरणले चलखेल हुनसक्ने आशंकामा ओरिएण्टल इन्स्योरेन्समा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो, जसमा हिल्टन होटलको पाँच अर्ब रुपैयाँ बराबरको बीमा भएको भेटिएको थियो ।

हाल ओरिएण्टल इन्स्योरेन्स कम्पनीले हिल्टन होटलको क्षति सर्भे गरिरहेको छ । नेपाली तथा भारतीय सर्भेयर परिचालन गरिएको कम्पनीका प्रवक्ता ढकालले जानकारी दिए । प्रारम्भिक सर्भे अनुसार करिब चार अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।